काठमाडौं, १० भदौ । सर्लाहीको गोडैता बजारमा शुक्रबार दिउँसै डकैतीभएको छ। प्रहरी चौकीभन्दा करिब दुई सय मिटर मात्र टाढा रहेको आईएमई काउन्टरमा हतियारधारी समूहले लुटपाट गरेको छ। शुक्रबार बिहान करिब दश बजे आइएमई पसलमा चार जनाको नकाबधारी समूहले हतियार देखाई लुटपाट गरेको हो।
गोडैता ८ स्थित बजारमै रहेको आइएमई काउन्टरमा चार जनाको समूहमा आएको नकाबधारी समूहले पसलमा प्रवेश गरी एक थान कम्प्युटरसहित ८ लाख ५० हजार नगद पनि लुटेर भाग्न सफल भएको सञ्चालक शुभनारायण पण्डितले जानकारी गराएका छन्।
गौडैता नगरपालिकाको मुख्यबजारमा नै नकाब लगाएको हतियारधारी समूहले लुटपाट गरेको वडाध्यक्ष मीरेन्द्रकुमार झाले बताएका छन्। दुई सय मिटरभित्रमा रहेको प्रहरी चौकीको पनि डर नमानी दिउँसै हतियारधारी समूहले लुटपाट गरेपछि गोडैता बजारका व्यावसायीहरुमा त्रासको वातावरण बनेको वडाध्यक्ष झाले बताएका छन्।
दुई ओटा मोटरसाइकलमा चार जना लुटेराहरुले नगदतथा कम्प्युटर लुटेर भागेपछि जिल्लामा प्रहरी सतर्कता बढाइएको छ। घटना लगत्तै डिएसपीको कमान्डमा प्रहरीको टोली घटनास्थलमा परिचालन गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाही प्रहरी प्रमुखएसपी प्रवीण पोखरेलले सर्लाही जिल्लाभर प्रहरी परिचालन गरिएको र बोर्डर क्षेत्रमा निगरानी बढाएर अनुसन्धान भइरहेको जनाएका छन्।








प्रतिक्रिया दिनुहोस्