काठमाडौं, १० भदौ । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् । उनीहरूले दाबी गरेको कुल सिट संख्या २ सय २७ पुग्छ । जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने सिट संख्या १ सय ६५ मात्रै छ ।
कार्यदलका एक सदस्यका अनुसार कुन निर्वाचन क्षेत्रमा कुन दलको अवस्था कस्तो छ भन्नेबारे मत विश्लेषणसमेत सुरु भएको छ । ‘कुन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर सामान्यतः छलफल भएको छ । अब केही गृहकार्य आवश्यक छ, शुक्रबार ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्छौं,’ कार्यदलका ती सदस्यले भने ।
बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई संघ र प्रदेशका निर्वाचन क्षेत्रमा दलको अवस्था शुक्रबारसम्म विश्लेषण गर्ने जिम्मेवारी दिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले दिएको जिम्मेवारीअनुसार प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रको समीक्षा भइरहेको बताए । ‘दलहरूबाट खुलस्त दाबी प्रस्तुत भएको छ,’ उनले भने, ‘हामी त्यसलाई न्यायसंगत ढंगले टुंगोमा पुर्याउँछौं ।’








प्रतिक्रिया दिनुहोस्