कैलाली, ९ भदौ । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष हुन् । उनले कैलाली स्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए ।
चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।‘
अघिल्लो पटक नागरिकले भारी मतले उहाँलाई विजयी गराउनु भएको थियो तर, उहाँलाई झुटो मुद्धामा फसाएर नागरिकहरूको काम गर्न दिइएन अब नागरिकहरूको अपेक्षा म पुरा गर्नेछु’ ‘यहाँका नागरिकहरूको सल्लाह सुझाव पछि मैले कैलाली क्षेत्र नम्बर १ रोज्ने निर्णय गरेकी हुँ ।’ रन्जिता चौधरीको कैलाली क्षेत्र नम्बर १ सँगै कैलाली ५, कञ्चनपुर १ र बर्दिया २ को पनि चर्चा चलिरहेको थियो । तर, उनले आज कैलाली १ बाट निर्वाचनमा होमिने घोषणा गरेकी हुन् ।








प्रतिक्रिया दिनुहोस्