काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । सत्तारूढ दल कांग्रेसका एक शीर्ष नेताकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग राष्ट्रपति भण्डारीले राजीनामा दिने तयारी गरेको बताएका छन् ।
राष्ट्रपतिले बुधबार सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीहरूलाई शितलनिवासमा बोलाएकी थिइन् । स्रोतकाअनुसार आफूले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले फेरि हुबहु पारित गरेपछि राष्ट्रपति असन्तुष्ट बनेकी छन् । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता पठाइदिएपछि नागरिकस्तरबाट उनको तारिफ भएको थियो । त्यही पब्लिक सेन्टिमेन्ट क्यास गर्ने रणनीति एमालेको हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ । यद्यपि कतिपयले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै आएका छन् ।
राष्ट्रपतिको सम्भावित राजीनामालाई कांग्रेस नेताहरूले एमालेको चुनावी चालका रूपमा अर्थ्याएका छन् । आगामी चुनावमा नागरिकताकै मुद्दालाई बलियो बनाउन एमालेले चाल चालेको उनीहरूको बुझाइ छ ।
सत्ता गठबन्धनको शीर्ष नेतृत्वमा पनि उनको सम्भावित राजीनामाबारे छलफल भइरहेको छ । नेताहरूले उनको राजीनामाले पार्ने प्रभावबारे विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहेका छन् ।
यसै क्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकिछिन् ।
छलफलका क्रममा सेनाका पूर्व जर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । यसअघि राष्ट्रपति भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । तर गएको २ गते प्रतिनिधि सभाको बहुमतबाट विधेयक जस्ताको त्यस्तै स्वीकृत भइसकेको छ । प्रतिनिधि सभाबाट पुनः पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभामा पनि सत्तारूढ गठबन्धनकै बहुमत छ ।
राष्ट्रिय सभा बैठक आउँदो १२ गते बोलाइएको छ तर विधेयक कहिले पारित हुन्छ भन्ने निश्चित छैन । संविधानअनुसार संसदबाट दोस्रोपटक पारित भइ आएको विधेयक प्रमाणीकरण गर्नेबाहेकको अधिकार राष्ट्रपतिसँग छैन ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर राजीनामा दिनुहुन्छ भन्ने हल्ला पनि चल्न थालेको छ । तर हिजो सैनिक उच्च पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपतिले आफूले राजीनामा नदिने र कानुनी विकल्पहरु खोज्ने स्पष्ट गरेकिछिन् । छलफलमा सहभागी पूर्व सैनिक अधिकारीहरुले पनि राष्ट्रपतिलाई परिस्थितिको सामना गरेर अघि बढ्न, तर राजीनामा नदिन सुझाव दिएका थिए ।
पहिलोपटक ०७२ कात्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी दोस्रोपटक ०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्