काठमाडौं, ६ भदौ काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँग सहकार्य गरेको छ ।
अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।
सडकका फोहर उठिसके पछि भने कुहिने र नकुहिने फोहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फोहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् । गएको शुक्रवारदेखि काठमाडौंबाट नियमित रुपमा फोहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फोहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।








प्रतिक्रिया दिनुहोस्