ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो


एबीसी / संवाददाता

म्याग्दी, ४ भदौ  । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउनुहुन्छ ।

“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उहाँले विगत सम्झनुभयो, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर ब्यापार खस्कियो ।”

पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्ये । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो ।

अहिले थोक बिक्रेता ९डिलर० बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताउनुभयो । “नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पु¥याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।”

करिब दुई किलोमिटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनीबजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ एक हजारभन्दा बढी घर छन् । मङ्गलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्युरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो ।

विसं २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारीबेनीमा थिए । वारीबेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारीबेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउनुहुन्छ ।

कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । मङ्गलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारीबेनीको व्यापारिक अवस्था पनि मङ्गलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् । क्याम्सचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ ।

शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अर्कोतर्फ विसं २०६८ सम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सिधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रुु, तीर्थयात्री र पर्यटक बेनीमा झर्ने गर्दथे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । सङ्घीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रित भयो ।

सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र दश जोड दुई तह अध्ययन गर्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन् । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौँ जाने बेनीमा अडिन सकेका छैनन् ।

मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका दुई वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।

बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाई छ । “बेनीमा विगतको जस्तो व्यापार छैन”, उहाँले भन्नुभयो “आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।”

तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रुइसे, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।

“तत्काललाई प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रुखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।”

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीलाई व्यापारिकबाट पर्यटकीय केन्द्रमा रुपान्तरण गर्न अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको बताउनुभयो । बेनीको शिरमा रहेको पछैमा रावण पार्क बनाउन सुरु गरिएको र तातोपानीमा प्राकृतिक उपचार केन्द्र सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।

बेनीमा रहेको बाइसेचौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक बेनीकोत घरको हालै पुनःनिर्माण र जीर्णोद्धार भएको छ । तातोपानी कुण्डमा बिरामीबाहेकका पाहुनालाई पनि चौबिसै घण्टा स्नान गर्ने व्यवस्था मिलाइएको छ । चिनको सिमानामा रहेको मुस्ताङस्थित कोराला नाका सञ्चालन भएमा म्याग्दीको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com