काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिट वितरणमा भेदभाव नहुने प्रष्ट पारेका हुन्।
उनले भने, ‘हामी अहिले गठबन्धनको सरकारमा छौं। स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरिसकेका छौँ। हामीले राम्रो नतिजा हात पार्न सफल भयौँ। अब मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ।
हामी गठबन्धन गरेर जाने सहमति भइसकेको छ।’गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न निर्देशन गरे। ०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण आफूहरुले जित्न नसकेको स्मरण गर्दै अहिले गठबन्धनलाई निरन्तरता दिन चाहेको बताए। ‘तपाईंहरू जनतामाझ गएर विश्वास लिने काममा लाग्नुस्। स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको छ। पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जानुपर्छ। आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन दिन्नँ। भेदभाव हुँदैन’ देउवाको भनाइ छ। गठबन्धन छ भनेर ढुक्कसँग नबस्ने नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।
प्रतिक्रिया दिनुहोस्