काठमाडौं, ९ असार । काठमाण्डौको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताए। उनका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको उनले बताए।
भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर चुमनलाल दासले बताए । उनका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।हैजा देखिएको बागबजार क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर, जोखिम उच्च रहेकाले वरिपरिका नागरिकलाई निगरानीमा राखिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले जानकारी दिए । यस्तै, काठमाण्डौको टेकु अस्पतालमा उपचाररत अन्य दुई जनामा पनि हैजा पुष्टि भएकाले उपत्यकामा भित्रभित्रै हैजा फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । यस्तै, उपचारमा रहेका अर्का व्यक्तिमा पनि हैजाको आशङ्का गरिएको छ । जोखिमयुक्त क्षेत्रमा पनि पानीको नमुना परीक्षण भइरहेको उनले बताए । ठाउँ ठाउँमा हैजाको सङ्क्रमण देखिन थालेकाले काठमाण्डौमा हैजा फैलने जोखिम बढेको छ ।खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुार सामान्यतया १० जनामा हैजाको सङ्क्रमण हुँदा दुई जना अस्पताल पुग्नु पर्ने अवस्था आउँछ । काठमाण्डौमा अहिले चार जनामा नै हैजा पुष्टि भइसकेको छ । त्यसैले हैजा फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।सङ्क्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांसपेशी बाउँडिने, बान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्