काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित भएका छन् ।
यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् ।प्रधानमन्त्रीको जवाफ सुन्न विहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिइन् ।
सभापति निरौलाले नै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा पत्र पाए पनि विभिन्न कारणले समितिमा आउन नसकेको जवाफ पाएको बताएकी छन् । सभापति निरौलाले प्रधानमन्त्रीको तर्फबाट आएको गैरजिम्मेवार जवाफलाई समितिको अपमान भनेकी छन् ।








प्रतिक्रिया दिनुहोस्