काठमाडौं, २६ जेठ । दुई साताभन्दा बढी समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् । बर्खाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको छ । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिनप्रतिदिन बिरामी बढ्न थालेको जानकारी दिए । अहिले अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका भएको उनले बताए ।
राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा। शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा। पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् । नयाँ प्रकारको झाडापखाला देखिएकाले लक्षणका आधारमा उपचार गरिएको चिकित्सकहरूको भनाइ छ । सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दूषित पानी बगिरहेको र उक्त पानी फलफूल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्ने उनीहरूको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्