काठमाडौं , २२ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे सरकारलाई केही पनि जानकारी नभएको बताउनुभयो । विश्व वातावरण दिवसको अवसर पारेर आईतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहा“ले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताउनु भयो ।
उहाँले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनु भयो । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हटनुपरेको अध्यक्ष ओलीको भनाई थियो । वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरुको ओलीले ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गर्नु भयो ।








प्रतिक्रिया दिनुहोस्