काठमाडौँ- गत बैशाख ३० गते सम्पन्न ७ सय ५३ स्थानीय तहमध्ये ७५२ वटा तहको मत परिणाम सार्वजनिक भइसकेको छ । योसँगै अब कुन जिल्लामा कुन–कुन पार्टीले जिल्ला समन्वय समिति बनाउन सक्ने भन्ने राजनीतिक समीकरण सुरू भएको छ ।
७७ जिल्लामध्ये नेपाली कांग्रेसले १५, नेकपा एमालेले ११ र नेकपा माओवादी केन्द्रले ४ गरी ३० जिल्लामा एक्ला एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने अवस्था देखिएको छ ।
इलाम
इलाममा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुख बनाउन २० जनाले मतदान गर्नेछन्। यहाँ जिससमा नेतृत्व लिनका लागि एमालेसँग कुनै न कुनै दलले सहकार्य गर्नै पर्ने देखिएको छ। जिसस प्रमुखका लागि २० मध्ये कम्तिमा ११ जनाले मतदान गर्नुपर्ने हुन्छ। एमाले एक्लैको १० मतभार भए पनि उसले अरुदलसँग मिल्नुपर्ने देखियो। कांग्रेसले विभिन्न पालिकाहरुमा अध्यक्ष र उपाध्यक्ष गरेर ७ सिट हात पारेको छ। कांग्रेसको मतभार पनि ७ छ। जसपासँग दुई मतभार छ। त्यस्तै माओवादी केन्द्र र राप्रपासँग कुनै मतभार छैन, शून्य छ।
उदयपुर
उदयपुरमा जम्मा मतभार १४ छ। यहाँ जिल्ला समन्वय समितिको नेतृत्व गर्नका लागि कम्तिमा ८ मतभार एकापट्टी हुनुपर्छ। यहाँ कांग्रेसको बहुमत छ तर, जिससको नेतृत्व गर्न अरु दलसँग तालमेल नगरी सम्भव छैन। दुई नगरप्रमुख र चार पालिकाका उपाध्यक्ष जितेको कांग्रेससँग ६ मतभार छ।
एक नगरप्रमुख, तीन उपप्रमुख जितेको एमालेसँग चार मतभार छ। यहाँ माओवादीले तीन गाउँपालिका अध्यक्ष जितेको छ मतभार पनि तीन छ। नेकपा एकीकृत समाजवादीले पनि एउटा पालिका अध्यक्ष जितेको छ उसँग पनि एक मतभार अर्थात एक भोट छ।
ओखलढुंगा
ओखलढुंगामा जम्मा मतभार १६ छ। यहाँ पनि कांग्रेसको बहुमत छ। तर, जिल्ला समन्वय समितिको नेतृत्व लिन एक मत भने कांग्रेसले अन्य दलसँग माग्नुपर्ने देखिन्छ। कांग्रेससँग आठ मतभार हुँदा एमालेसँग पाँच, माओवादी केन्द्रसँग एक, जसपासँग एक र स्वतन्त्र एक मतभार छ। यहाँ कांग्रेसले आफ्नो नेतृत्वमा जिल्ला समन्वय समितिको नेतृत्व लिन जसपा वा स्वतन्त्रसँग मिल्न सक्ने देखिएको छ। यहाँ समन्वय समितिको नेतृत्वको लागि ९ मतभार आवश्यक पर्छ।
खोटाङ
खोटाङमा जिल्ला समन्वय समितिको नेतृत्वका लागि २० मतभार छ। यहाँ कांग्रेससँग बहुमत भए पनि अन्य दलसँग नमिलेसम्म जिससमा नेतृत्व लिन सक्ने अवस्था भने छैन। दुई नगर प्रमुख, एक उपप्रमुख, चार पालिका अध्यक्ष, तीन उपाध्यक्ष जितेको कांग्रेससँग १० मतभार छ भने जिससमा नेतृत्व लिन ११ चाहिन्छ। यहाँ एमालेसँग चार, माओवादी केन्द्रसँग पनि चार, जसपासँग एक, नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि एक मतभार छ।
झापा
झापामा भने एमालेले एकल जिसस गठन गर्नेछ। यहाँ एमालले ६ नगर प्रमुख, पाँच उपप्रमुख, एक पालिका अध्यक्ष र पाँच उपप्रमुख जितेर १७ मतभार बनाएको छ। झापामा जिसस नेतृत्व लिन १६ मतभार भए पुग्छ। यहाँ कांग्रेससँग ९, राप्रपासँग ४ मतभार छ।
ताप्लेजुङ
ताप्लेजुङमा जिल्ला समन्वय समिति बनाउन पनि कुनै पनि दलसँग स्पष्ट बहुमत देखिँदैन। ताप्लेजुङमा जम्मा मतभार १८ छ। जिल्ला समन्वयको नेतृत्वको लागि कम्तिमा १० मतभार एकापट्टी चाहिन्छ। यस जिल्लामा नेपाली कांग्रेस र एमालेबीच जिल्ला समन्वय समितिको नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ कांग्रेस र एमालेसँग ६/६ मतभार छ। माओवादी केन्द्रसँग पाँच, नेकपा एकीकृत समाजवादीसँग एक मतभार छ।
तेह्रथुम
तेह्रथुम जिल्लामा पनि कुनै दलले एक्लै जिसस बनाउन सक्ने देखिँदैन। जम्मा मतभार १२ रहेको तेह्रथुममा जिसस बनाउन ७ मतभार चाहिन्छ। कांग्रेसँग ६, एमालेसँग ५, माओवादी केन्द्रसँग एक मतभार छ। यहाँ कांग्रेसले माओवादी केन्द्रलाई उपप्रमुख दिएर कांग्रेस आफूले जिसस प्रमुख लिनसक्ने देखिन्छ।
धनकुटा
धनकुटामा भने नेकपा एमालेले एक्लै जिल्ला समन्वय समितिको नेतृत्व गर्नेछ। जम्मा मतभार १४ भएको धनकुटामा ८ मतभार हुने दलले जिसस बनाउन सक्छ। एमाले एक्लैको ९ छ। यहाँ कांग्रेसको ४, माओवादी केन्द्रसँग १ मतभार छ।
पाँचथर
पाँचथरमा जिल्ला समन्वय समितिको एकल नेतृत्व गर्न कांग्रेससँग एक मत कम छ। जम्मा मतभार १६ रहेको पाँचथरमा कांग्रेस एक्लैसँग ७ मात्रै छ। एमालेसँग ३ र माओवादीसँग ६ मतभार छ। यहाँ कांग्रेस र एमाले मिल्ने सम्भावना देखिन्छ। यस्तो हुँदा एमालेले उपप्रमुखको बार्गेनिङ गर्न सक्छ।
भोजपुर
भोजपुरमा जिसस बनाउन कांग्रेस र एमालेले अरु दलको मत तान्न कडा मेहनत गर्ने देखिन्छ। जम्मा मतभार १८ रहेको भोजपुरमा जिसस नेतृत्व गर्न १० मत एकापट्टी चाहिन्छ। यहाँ कांग्रेससँग ७, एमालेसँग ६ मतभार हुँदा निर्णायक माओवादीसँग ४ मतभार छ। यहाँ स्वतन्त्रको पनि एक मतभार छ।
मोरङ
मोरङमा नेकपा एमालेले एकल जिसस गठन गर्नेछ। जम्मा मतभार ३४ रहेको मोरङमा एमाले एक्लैसँग २१ मतभार छ। यहाँ १८ मतभार हुनेले जिसस बनाउन सक्नेछ। मोरङमा कांग्रेससँग १२, माओवादीसँग १ मतभार छ।
संखुवासभा
यहाँ भने जिसस बनाउन कुनै पनि दलसँग एकल बहुमत छैन। २० मतभार भएको संखुवासभामा जिसस बनाउन ११ मत चाहिन्छ। सबैभन्दा धेरै स्थानीय तहको प्रमुख उपप्रमुख जितेको कांग्रेससँग ९, एमालेसँग ८, माओवादी केन्द्रसँग १, जसपासँग १ र एकीकृत समाजवादीसँग २ मतभार छ। यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादी मिल्ने सम्भावना बढी छ।
सुनसरी
सुनसरीमा जिसस बनाउन कांग्रेसको एकल बहुमत छ। २४ मतभारमध्ये कांग्रेस एक्लैसँग १३ मतभार छ। त्यस्तै एमालेसँग ८, माओवादीसँग १, जसपासँग १, स्वतन्त्रसँग १ मतभार छ।
सोलुखुम्बु
यहाँ पनि कांग्रेसले एकल जिसस बनाउनेछ। १६ मतभार रहेको सोलुखुम्बुमा जिसस बनाउन ९ मतभार चाहिनेमा कांग्रेस एक्लैसँग १० मतभार छ। त्यस्तै एमालेसँग ३, माओवादीसँग ३ मतभार छ।
मधेश प्रदेश
अब कुरा गरौँ मधेश प्रदेशको। यहाँको धनुषामा पनि कांग्रेसले एकल रुपमा जिसस बनाउने छ। ३६ मतभार रहेको मधेश प्रदेशमा कांग्रेस एक्लैको २१ मतभार छ। यहाँ जिसस बनाउन १८ मतभार भए पुग्नेछ। त्यस्तै एमालेसँग ७, माओवादी केन्द्रसँग ३, जसपासँग ४ र स्वतन्त्रसँग एक मतभार छ।
पर्सा
पर्सामा भने जिसस बनाउन नेकपा कांग्रेस र एमालेबीच कडा टक्कर हुनेछ। २८ मतभार भएको पर्सामा जिसस बनाउन १५ मतभार चाहिन्छ। कांग्रेससँग १२, नेकपा एमालेसँग १० मतभार छ। त्यस्तै माओवादी केन्द्र शून्य, जसपासँग ५ मतभार, लोसपासँग १ मतभार छ।
बारा
बारामा पनि कुनै पनि दलको स्पष्ट बहुमत छैन। ३२ मतभार भएको बारामा जिसस बनाउन कम्तिमा १७ मतभार आवश्यक पर्छ। यहाँ कांग्रेससँग ८, एमालेसँग ११, माओवादी केन्द्रसँग १, जसपासँग ६, लोसपा ४ र विवेकशील साझासँग २ मतभार छ।
महोत्तरी
महोत्तरीमा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व जितेको जसपासँग पनि बहुमत छैन। यहाँ ३० मतभार छ। जिसस बनाउन कम्तिमा १६ मतभार चाहिन्छ। जसपा एक्लैसँग ११ मतभार हुँदा कांग्रेसको ६, एमालेको २, तलमोपा १, लोसपाको ८ र स्वतन्त्र २ मतभार छ।
रौतहट
रौतहटमा पनि कुनै दलले एकल रुपमा जिसस बनाउन सक्दैनन्। यहाँ जम्मा मतभार ३६ छ भने जिसस बनाउन १८ मतभार चाहिन्छ। कांग्रेससँग १४, एमालेसँग ५, माओवादीसँग २, जसपा ३, एकीकृत समाजवादीसँग ४ र लोसपासँग ४ मतभार छ। यहाँ पनि दलहरु एक आपसमा तालमेल गरेर नै जिसस बनाउने छन्।
सप्तरी
३६ मतभार रहेको सप्तरीमा जिसस बनाउन १९ मतभार चाहिन्छ। यहाँ पनि कुनै दलसँग बहुमत छैन। तालमेलको विकल्प पनि छैन। धेरै स्थानीय तहको नेतृत्व जितेको कांग्रेससँग १२, एमालेसँग ४, माओवादीसँग २, जसपासँग ८, जनमत पार्टीसँग ३, एकीकृत समावादीसँग २, लोसपासँग ५ मतभार छ।
सर्लाही
सर्लाहीमा भने नेपाली कांग्रेसले एकल जिसस बनाउनेछ। ४० मतभार भएको सर्लाहीमा जिसस बनाउन २१ मतभार चाहिनेमा कांग्रेससँग एक्लै २३ मतभार छ। एमालेसँग ३, माओवादी केन्द्रसँग ८, जसपासँ ४, लोसपासँग २, मतभार छ।
सिराहा
सिराहा सबैभन्दा धेरै स्थानीय तहको नेतृत्व हात पारेको एमालेसँग पनि एकल बहुमत छैन। यहाँ ३४ मतभार हुँदा जिसस बनाउन कम्तिमा १८ मतभार चाहिन्छ। कांग्रेससँग ६, एमालेसँग १५, माओवादीसँग २, जसपासँग १०, एकीकृत समाजवादीसँग १, मतभार छ। यहाँ माओवादी र जसपाले अन्य दलसँग मिलेर जिसस बनाउन सक्नेछन्।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौँ जिल्लामा नेपाली कांग्रेसको एकल जिसस बन्नेछ। २२ मतभार भएको काठमाडौँमा जिसस बनाउन २२ मतभारमध्ये कम्तिमा १२ मतभार चाहिनेमा कांग्रेससँग मात्रै १२ नै मतभार छ। यहाँ एमालेसँग ८, छ भने राप्रपा र स्वतन्त्रसँग एकेक मतभार छ।
काभ्रेपलाञ्चोक
काभ्रेमा जिसस बनाउन कांग्रेसलाई एक मतभार कम भएको छ। २६ मतभार रहेको काभ्रेपलाञ्चोकमा जिसस बनाउन कम्तिमा १४ मतभार चाहिन्छ भने कांग्रेससँग १३ मतभार छ। एमालेसँग ४ मतभार हुँदा माओवादीसँग १, एकीकृत समाजवादीसँग १ मतभार छ। यहाँ कांग्रेसले माओवादी र एकीकृत समाजवादीमध्ये एक दलसँग तालमेल गर्न सक्नेछ।
चितवन
१४ मतभार भएको चितवनमा कुनै पनि दलले जिसस बनाउन कम्तिमा ८ मतभार चाहिन्छ। तर, यहाँ कुनै पनि दलको बहुमत छैन। कांग्रेससँग ५, एमालेसँग ७, माओवादीसँग १, एकीकृत समावावादीसँग पनि एक मतभार छ। यहाँ एमालेले कुनै एक दलसँग तालमेल गरेर जिसस बनाउन सक्नेछ। चितवनमा एमालेबाहेकका दलसँग तालमेल गर्दा पनि कांग्रेसको जिसस भने बन्न सक्दैन।
दोलखा
दोलखामा एमाले र कांग्रेसमध्ये एक दलले जिसस बनाउने छन्। १८ मतभार रहेको दोलखामा एमालेको ७ मतभार छ भने कांग्रेसको ६ छ। यहाँ माओवादी केन्द्रको ४, नेकपा एकीकृत समाजवादीको १ मतभार छ। एमाले वा कांग्रेस जसले पनि माओवादीसँग नमिलेसम्म जिसस बनाउन सक्दैनन्। जिसस बनाउन कम्तिमा१० मतभार एक पक्षमा हुनुपर्छ।
धादिङ
धादिङमा भने कांग्रेसले जिसस बनाउने सम्भावना बढी छ। तर यहाँ माओवादीले एमाले र नेकपा एकीकृत समाजवादीसँग मिलेर पनि बनाउन सक्ने छ। धादिङको जम्मा मतभार २६ छ। यसकारणले कम्तिमा १४ मतभार एकपक्षमा हुनेले जसस बनाउन सक्छ। कांग्रेस एक्लैको मतभार १२ छ, माओवादीको ८ छ। एकीकृत समाजवादीको ४ छ भने एमालेको २ छ। अहिले एकीकृत समाजवादीलाई उपप्रमुख दिएर कांग्रेसले जसस प्रमुख लिने तयारी गरिरहेको बुझिएको छ।
नुवाकोट
नुवाकोटमा पनि जिसस बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रको कडा टक्कर पर्ने देखिन्छ। यहाँ माओवादी नै बलियो अवस्थामा छ। कांग्रेसको मतभार ११ छ भने माओवादीको १२ छ। यहाँ एमालेको १ मत छ। नुवाकोटको जिससको जम्मा मतभार २४ छ। यहाँ माओवादीले एमालेसँग तालमेल गरेको खण्डमा १३ मतभार हुनेछ। जिसस बनाउन १३ मत एकापट्टी भए पुग्नेछ।
भक्तपुर
भक्तपुरमा अहिले नै कुन दलको नेतृत्वमा जिसस बन्छ भन्न सकिने अवस्था छैन। यहाँ एमालेको मत ३ छ भने कांग्रेस र नेपाल मजदुर किसानपार्टीको मतभार २/२ छ। माओवादी केन्द्रको १ छ। यहाँको जम्मा मतभार ८ हो। जिसस बनाउन कम्तिमा ५ मतभार एकपक्षीय हुनुपर्नेछ। एमालेले कांग्रेस वा नेमकिपालाई मनाएको खण्डमा एमालेकै नेतृत्वमा जिसस बन्ने छ भने कांग्रेस, नेमकिपा र माओवादी मिलेको खण्डमा भने एमालेबाट जिससको नेतृत्व खोसिने छ।
मकवानपुर
मकवानपुरमा पनि कांग्रेस र माओवादी केन्द्रकै प्रतिस्पर्धापछि जिसस बन्ने छ। यी दुई दलले एमाले र एकीकृत समाजवादी पार्टीलाई नफकाउँदासम्म दुवै दलले जिसस बनाउन सक्ने अवस्था छैन। २० मतभार रहेको मकवानपुरमा कांग्रेसको ९, माओवादी केन्द्रको ७, एमालेको ३, एकीकृत समाजवादीको १ मतभार छ। जिसस बनाउन कम्तिमा ११ मतभार एकपक्षीय हुनुपर्नेछ। कांग्रेसले एमालेलाई मात्रै फकायो भने पनि उसकै नेतृत्वमा जिसस बन्ने छ भने माओवादीको हकमा एमाले र एकीकृत समाजवादी दुवै फकाउनुपर्ने समस्या छ।
रामेछाप
रामेछापमा भने कांग्रेस र एमालेबीच जिसस बनाउने विषयमा टक्कर परेको छ। १६ मतभार रहेको यहाँ जिसस बनाउने दलको पक्षमा कम्तिमा ९ मतभार आवश्यक पर्छ। यहाँ कांग्रेससँग ७, एमालेसँग ६, माओवादी केन्द्रसँग ३ मतभार छ। एमाले र कांग्रेसमध्ये जुन दलले माओवादीलाई फकाउन सक्छ उही दलले यहाँ जिसस बनाउनेछ।
ललितपुर
ललितपुरमा नेपाली कांग्रेसले एकल जिसस बनाउनेछ। यहाँको जम्मा मतभार १२ छ जिसस बनाउन कम्तिमा ७ मतभार एकपक्षमा चाहिने अवस्थामा कांग्रेसँग ७ नै मतभार छ। एमालेसँग ३, माओवादीसँग २ मतभार छ। यहाँ कांग्रेसका उम्मेदवार निर्विरोध भइसकेका छन्। अन्य दलले उम्मेदवारी नदिएपछि कांग्रेसका उम्मेदवार निर्विरोध भएका हुन्।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा कांग्रेसले जिसस प्रमुख पाउने सम्भावना बलियो छ। यहाँ अन्य दल सबै मिल्दा पनि जिसस बनाउन आवश्यक मत पुग्दैन। त्यसो त कांग्रेस एक्लै पनि आवश्यक मतभार पुग्दैन। सिन्धुपाल्चोकको जम्मा मतभार २४ हो जिसस बनाउन एकपक्षमा १३ मतभार चाहिन्छ। कांग्रेससँग १२ मतभार छ। उसले १ मतभार रहेको एकीकृत समाजवादीसँग तालमेल गर्ने सम्भावना छ। एमालेको मतभार ७ छ भने मावादीको ४ छ। एमाले माओवादी र समाजवादी मिल्दा पनि १३ मतभार पुग्दैन।
सिन्धुली
सिन्धुलीमा माओवादी र कांग्रेसको समान ७/७ मतभार छ। यो जिसस बनाउन पुग्ने मतभार होइन। यहाँ जिसस बनाउन १० मतभार एकपक्षमा चाहिन्छ। यहाँ दुवै दलले जिसस बनाउन एमालेलाई फकाउनु पर्नेछ । एमालेसँग ४ मतभार छ।
गण्डकी प्रदेश
कास्की
कास्कीमा एमालेको एकल जिसस बन्ने छ। १० मतभार रहेको कास्कीमा कांग्रेससँग ३, एमालेसँग ६, नेकपा एकीकृत समाजवादीसँग १ मतभार छ। कास्की जिसस बनाउन कम्तिमा ६ मतभार एकपक्षीय हुनुपर्ने अवस्थामा उक्त मतभार एमालेसँग एक्लै छ।
गोरखा
गोरखामा माओवादी केन्द्रले एकल जिसस बनाउँदैछ। ११ स्थानीय तह रहेको गोरखामा ९ वटा स्थानीय तहको नेतृत्व जितेको छ। भने केहीमा उपाध्यक्ष/उपप्रमुख जितेको छ। उसको मतभार १५ छ। गोरखाको जम्मा मतभार २२ हो। जिसस बनाउन कम्तिमा १२ मतभार भए पुग्छ। यहाँ कांग्रेसको मतभार ७ छ।
तनहुँ
तनहुँमा भने धेरै मतभार भएको दल कांग्रेस हो। ऊसँग १० मतभार छ। यतिमतले जिसस बन्दैन। तनहुँको जम्मा मतभार २० हो जिसस बनाउन कम्तिमा ११ मतभार एकपक्षीय हुनुपर्छ। यहाँ एमालेको मतभार ६, मावादी केन्द्रको ४ छ। यहाँ कांग्रेस र माओवादीबीच तालमेल हुने सम्भावना बढी छ।
नवलपरासी पूर्व
यहाँ नेकपा एमालेको एकल जिसस बन्ने पक्का छ। जम्मा १६ मतभार रहेको नवलपरासी पुर्वमा एमाले एक्लैको ११ मतभार छ। यहाँ जिसस बनाउन कम्तिमा ९ भएपुग्छ। कांग्रेसको मतभार भने ५ मात्र छ।
पर्वत
पर्वतमा एमालेको बहुमत भए पनि एकल जिसस बनाउन सक्ने मत छैन। १४ मतभार रहेको पर्वतमा ७ मतभार एमाले एक्लैको छ। तर, जिसस बनाउन कम्तिमा ८ मतभार चाहिन्छ। कांग्रेसको मत ५, माओवादी केन्द्रको २ मत छ। यहाँ एमाले र माओवादी मिल्ने सम्भावना छ।
बागलुङ
बागलुङमा नेपाली कांग्रेसको एकल जिसस बन्ने छ। २० मतभार रहेको बागलुङमा कांग्रेस एक्लैको १२ मतभार छ। एमालेको १, माओवादी केन्द्रको ४ र राष्ट्रिय जनमोर्चाको ३ मतभार छ।
मनाङ
यहाँ कांग्रेस र एमालेको बराबर ३/३ मतभार छ। माओवादीको १ र स्वतन्त्रको पनि १ मतभार छ। मनाङको जम्मा मतभार ८ हो जिसस बनाउन कम्तिमा ५ मतभार एकपक्षमा चाहिन्छ। यस्तो अवस्थामा एमाले र कांग्रेस मिल्छन् यी दलले माओवादी र स्वतन्त्र फकाउन कसरत गर्छन् त्यो भने हेर्न लायक प्रतिस्पर्धा हुनेछ।
मुस्ताङ
मुस्ताङमा एमालेको एकल बहुमत भएकोले उसले नै एकल जिसस बनाउने छ। १० मतभार रहेको मुस्ताङमा एमाले एक्लैको ७ मतभार छ। कांग्रेसको ३ छ।
म्याग्दी
म्याग्दीमा पनि एमाले एक्लैले जिसस बनाउँदैछ। यहाँको जम्मा मतभार १२ हो जिसस बनाउन कम्तिमा ७ मतभार चाहिन्छ। यो मतभार एमाले एक्लैसँग छ। कांग्रेससँग ३ माओवादी केन्द्रसँग २ मतभार छ।
लमजुङ
लमजुङमा पनि एमालेको एकल जिसस बन्ने पक्का छ। यहाँको जम्मा मतभार १६ र जिसस बन्न आवश्यक मतभार कम्तिमा ९ एकपक्षीय हुनपर्छ। जुन एमालेसँग छ। एमालेको मतभार ९ हुँदा कांग्रेसको ५ माओवादी केन्द्रको २ मतभार छ।
स्याङ्जा
अन्यत्रभन्दा भिन्न प्रतिस्पर्धा स्याङ्जामा हुँदैछ। यहाँको जम्मा मतभार २२ छ। स्याङजामा एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा छ। दुवैको ११/११ मतभार छ। जिसस बनाउन कम्तिमा १२ ममतभार आवश्यक पर्छ। यहाँ अब एमाले र कांग्रेसले भागबन्डा नगरेसम्म जिसस बन्न सक्दैन।
लुम्बिनी
अर्घाखाँची
अर्घाखाँचीमा एमालेको एकल जिसस बन्नेछ। यहाँ एमाले एक्लैको मतभार ८ छ भने कांग्रेसको २, माओवादी केन्द्रको १, जनमोर्चाको १, मतभार छ। यो जिल्लाको जम्मा मतभार १२ हो भने जिसस बनाउन कम्तिमा ७ मतभार चाहिन्छ। तर एमाले एक्लैसँग ८ छ।
कपिलवस्तु
कपिलवस्तुमा जिसस बनाउन एमाले र कांग्रेसको कसरत जारी छ। दुवैले अन्य दलको साहरा लिनुपर्ने छ। यहाँ कांग्रेसको ८ मतभार छ भने माओवादी केन्द्रको ७ मतभार छ। यस जिल्लाको जम्मा मतभार २० छ भने जिसस बनाउन कम्तिमा ११ मतभार चाहिन्छ। यहाँ माओवादी केन्द्र १, जसपा २, लोसपा १ र राप्रपासँग पनि १ मतभार छ।
गुल्मी
गुल्मीमा भने एमाले र कांग्रेसको तानातानमा माओवादी केन्द्र पर्ने भएको छ। २४ मतभार रहेको गुल्मीमा कांग्रेसको पनि १० मतभार छ भने एमालेको पनि १० नै छ। निर्णायक मानिएको माओवादीसँग ४ मतभार छ। यहाँ जिसस बनाउन कम्तिमा १३ मत एकपक्षीय हुनुपर्नेछ।
दाङ
दाङमा नेपाली कांग्रेसको एकल जिसस बन्ने पक्का छ। दाङमा २० मतभार रहेकोमा कांग्रेस एक्लैसँग १२ मतभार छ। एमालेसँग ५ छ भने माओवादी केन्द्रसँग ३ मतभार छ। जिसस बनाउन ११ मत चाहिनेमा कांग्रेस एक्लैसँग १२ मतभार भएपछि एकल जिसस बन्ने भएको हो।
नवलपरासी पश्चिम
नवलपरासी पश्चिममा भने एमाले र कांग्रेसबीच जिससको नेतृत्व लिने विषयमा प्रतिस्पर्धा हुने पक्का छ। यहाँ कांग्रेसको ६ मतभार छ भने एमालेको मतभार ५ छ। माओवादी केन्द्रको २ र राप्रपाको १ मतभार छ। यहाँको जम्मा मतभार १४ हो जिसस बन्न कम्तिमा ८ मतभार चाहिन्छ। यस्तो अवस्थामा कांग्रेस र एमालेले अन्य दलसँग तालमेल गर्नुपर्ने छ।
पाल्पा
पाल्पामा भने एमालेको एकल जिसस बन्ने पक्का छ। यहाँ एमाले एक्लैको ११ मतभार छ भने कांग्रेसको ७ छ। यहाँको जम्मा मतभार २० छ। यहाँ माओवादी केन्द्रको पनि २ मतभार छ।
प्युठान
प्युठानमा कुनै पनि दलले एकल रुपमा जिसस बनाउन सक्दैनन्। यहाँको जम्मा मतभार १८ छ। यहाँ जिसस बनाउन कम्तिमा १० मतभार एकपक्षीय हुनुपर्छ। यहाँ कांग्रेसको मतभार ७, एमालेको ४, माओवादीको ४, जनमोर्चाको ३ मतभार छ। यहाँ कुनकुन दल मिलेर जिसस बनाउँछन् भन्न सकिने अवस्था छैन।
बर्दिया
बर्दीयामा नेपाली कांग्रेसले एकल जिसस बनाउनेछ। जम्मा मतभार १६ रहेको यस जिल्लामा नेपाली कांग्रेसको एक्लै ९ मतभार छ। जहाँ जिसस बनाउन कम्तिमा चाहिने मतभार नै ९ हो। एमालेले ४ मतभार ल्याएको बर्दियामा माओवादी केन्द्रको ३ मतभार छ।
बाँके
बाँकेमा पनि नेपाली कांग्रेसले एकल जिसस बनाउने छ। यहाँको जम्मा मतभार १६ छ भने कांग्रेस एक्लैको मतभार १२ छ। यहाँ एमाले शून्य छ। माओवादी केन्द्रको ३ मतभार छ।
रुकुम पूर्व
यहाँ भने कांग्रेस र एमाले शून्य छन्। जम्मा मतभार ६ रहेको यस जिल्लामा माओवादी एक्लैको मतभार ५ छ भने १ मतभार जनमोर्चाको छ। यहाँ जिससमा बहुमत सदस्यका साथ माओवादीले एकल बनाउनेछ।
रुपन्देही
रुपन्देही जिल्लाको जम्मा मतभार ३२ छ। यहाँ कुनै पनि दलको स्पष्ट बहुमत छैन। त्यसैले तालमेल नगरी जिसस बन्दैन। कांग्रेससँग १४ मतभार छ, एमालेसँग १० मतभार छ। जसपासँग १, लोसपासँग ३ , राप्रपासँग १ र जनता प्रगतीशील पार्टीसँग २ मतभार छ। रुपन्देहीको जिसस बनाउन १७ मतभार एकपक्षीय हुनुपर्नेछ। यहाँ केही सहज कांग्रेसलाई छ उसले ३ मतभार भएको लोसपासँग मात्रै तालमेल गर्यो भने पनि जिसस बनाउन सक्नेछ। तर एमालेले जिसस बनाउन भने कांग्रेसबाहेकका अन्य सबै दललाई मनाउनुपर्ने छ।
रोल्पा
रोल्पामा माओवादी केन्द्रको एकल जिसस बन्नेवाला छ। २० मतभार रहेको रोल्पामा माओवादी एक्लैको १४ मतभार छ। कांग्रेसको ५, एमालेको १ मतभार छ।
सुदूरपश्चिम
अछाम
सुदूरपश्चिम प्रदेशको अछाममा नेपाली कांग्रेसको एकल जिसस बन्ने पक्का छ। २० मतभार रहेको अछाममा कांग्रेस एक्लैको ११ मतभार छ भने एमालेको ५, माओवादी केन्द्रको ३, नेकपा एकीकृत समाजवादीको १ मतभार छ।
कन्चनपुर
कन्चनपुरमा पनि कांग्रेसको एकल जिसस बन्दैछ। यहाँको जम्मा मतभार १८ छ भने जिसस बनाउन आवश्यक कम्तिमा १० मतभार चाहिन्छ। कांग्रेस एक्लैसँग १२ मतभार छ। यो जिसस बनाउन पुग्ने मतभार हो। कन्चपुरमा एमालेको मतभार ५ छ भने माओवादी केन्द्रको मतभार १ छ।
कैलाली
कैलालीमा कुन दलले जिसस बनाउँछ भन्न सकिने अवस्था छैन। एकअर्का दलबीच तालमेल नहुँदासम्म यहाँ जिसस बन्दैन। जम्मा २६ मतभार रहेको कैलालीमा जिसस बनाउन कम्तिमा १४ मतभार एकपक्षीय हुनुपर्ने छ। कांग्रेससँग ८, एमालेसँग ५, माओवादी केन्द्रसँग ४, नेकपा एससँग १, नागरिक उन्मुक्ति पार्टीसँग ७ र स्वतन्त्रसँग १ मतभार छ। यहाँ कांग्रेसले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल हुनेबारे छलफल भइरहेको बताइएको छ।
डडेलधुरा
डडेलधुरामा नेपाली कांग्रेसले एकल जिसस बनाउँदैछ। डडेलधुराको जम्मा मतभार १४ छ भने कांग्रेस एक्लैसँग १० मतभार छ। एमाले शून्य छ। भने माओवादी केन्द्रसँग ४ मतभार छ।
डोटी
डोटीमा पनि नेपाली कांग्रेसको एकल जिसस बन्ने छ। कांग्रेससँग स्पष्ट बहुमत मतभार छ। जम्मा मतभार १८ रहेको यस जिल्लामा कांग्रेस एक्लैको १५ मतभार छ। एमालेको २ हुँदा माओवादीको १ मतभार छ।
दार्चुला
दार्चुलामा एमाले र माओवादीबीच जिसस बनाउन टक्कर परेको छ। यहाँको जम्मा मतभार १८ छ भने जिसस बनाउन कम्तिमा १० मतभार चाहिन्छ। दार्चुला एमालेको मतभार ८ छ भने माओवादी केन्द्रको ६ मतभार छ। निर्णायक मानिएको कांग्रेससँग ४ मतभार छ। कांग्रेस जता मिल्छ उही दलको नेतृत्वमा जिसस बन्ने पक्का छ।
बझाङ
बझाङमा पनि कुनै पनि दलले एकल रुपमा जिसस बनाउन सक्दैनन्। २४ मतभार रहेको बझाङमा जिसस बनाउन कम्तिमा १३ मतभार आवश्यक पर्छ। यहाँ कांग्रेसको मतभार ११ छ, एमालेको मतभार ५, माओवादीको पनि ५ र नेकपा एसको ३ मतभार छ। यहाँ एमाले, माओवादी र नेकपा एस मिल्ने सम्भावना कम छ। त्यसैले कांग्रेसले जुन दलसँग तालमेल गर्छ उही दलसँग मिलेर जिसस बन्ने छ।
बाजुरा
बाजुरामा भने एमाले एक्लैले जिसस बनाउने छ। जम्मा १६ मतभार रहेको यस जिल्लामा कांग्रेसको ६, एमालेको ९ र स्वतन्त्रको १ मतभार छ। जिसस बनाउन कम्तिमा ९ मतभार चाहिनेमा एमाले एक्लैसँग उक्त मतभार छ।
बैतडी
बैतडीमा भने एमाले र कांग्रेसबीच जिसस बनाउन टक्कर परेको छ। २० मतभार रहेकझ बैतडीमा जिसस बनाउन कम्तिमा ११ मतचाहिन्छ जुन दुवै दलसँग छैन। दुवैले स्वतन्त्र र माओवादीसँग तालमेल गर्नुपर्ने छ। यहाँ कांग्रेसको मतभार ९, एमालेको ८, माओवादी केन्द्रको २ र स्वतन्त्रसँग १ मतभार छ। कांग्रेसले माओवादीसँग मात्रै तालमेल गरे पनि जिसस बनाउन सक्नेछ। भने एमालेले भने माओवादी र स्वतन्त्रसँग पनि तालमेल गरेको खण्डमा जसपा बन्न सक्छ।
कर्णाली
कालिकोट
कर्णाली प्रदेशको कालिकोटमा पनि कुनै पनि दलले एकल रुपमा जिसस बनाउन सक्ने अवस्था छैन। यहाँको जम्मा मतभार १८ छ भने जिसस बनाउन कम्तिमा १० मतभार एकपक्षीय हुनुपर्ने छ। कालिकोटमा कांग्रेसको मतभार ३, एमालेको पनि ३, माओवादीको भने ९ मतभार छ। यहाँ नेकपा एसको १ स्वतन्त्रको २ मतभार छ। यहाँ माओवादीले नेकपा एस र स्वतन्त्रमध्ये एकसँग तालमेल हुने वातावरण बनायो भने उसकै नेतृत्वमा जिसस बन्ने छ।
जाजरकोट
जाजरकोट जिल्लाको जम्मा मतभार १४ छ। यहाँ जिसस बनाउन कुनै पनि दलसँग ८ मतभार चाहिन्छ। यहाँका कुनै पनि दलसँग ८ मतभार नभएकोले तालमेल नभएसम्म जिसस बन्दैन। जाजरकोटमा कांग्रेसको मतभार ७, एमालेको ३, माओवादी केन्द्रको ४ मतभार छ। यहाँको जिसस बनाउन कांग्रेसले एमाले र माओवादीसँग तालमेल गर्नुपर्ने देखिन्छ।
जुम्ला
जुम्लामा पनि कुनै पनि दलले एकल जिसस बनाउन सक्दैनन्। १६ मतभार रहेको यस जिल्लामा कांग्रेसको ८, माओवादी केन्द्रको ६, नेकपा एसको १ र स्वतन्त्रको १ मतभार छ। जहाँ जिसस बनाउन ९ मतभार चाहिन्छ। यहाँ पनि कांग्रेसले नेकपा एस र स्वतन्त्रमध्ये एकसँग तालमेल गर्नुपर्ने हुन्छ।
डोल्पा
डोल्पामा पनि एकल जिसस कुनै पनि दलको बन्दैन। यहाँ पनि अन्य जिल्लामा जस्तै तालमेल नै हुनुपर्ने देखिन्छ। १६ मतभार रहेको यस जिल्लामा कांग्रेसको ३, एमालेको ४, माओवादी केन्लद्रको पनि ४, नेकपा एसको ३ र स्वतन्त्रको २ मतभार छ। यहाँ जिसस बनाउन कम्तिमा ९ मतभार एकातिर हुनुपर्ने छ।
दैलेख
दैलेखमा भने एमाले र कांग्रेसबीच जिसस बनाउन टक्कर परेको छ। एमालेको १०, कांग्रेसको ९ मतभार छ। यहाँ जिसस बनाउन कम्तिमा १२ मतभार चाहिन्छ। दैलेखमा माओवादी र नेकपा एस निर्णायक छन्। माओवादीको १, नेकपा एसको २ मतभार छ।
मुगु
मुगुमा कांग्रेसको एकल जिसस बन्ने छ। जम्मा मतभार ८ रहेको मुगुमा कांग्रेस एक्लैसँग ५ मतभार छ। यहाँ एमाले, माओवादी र नेकपा एससँग एकेक मतभार छ।
रुकुम पश्चिम
यहाँ भने माओवादी केन्द्रले एकल जिसस बनाउनेछ । जम्मा मतभार १२ रहेको यस जिल्लामा माओवादी एक्लैसँग ९ मतभार छ। यहाँ कांग्रेससँग २ र नेकपा एससँग १ मतभार छ।
सल्यान
सल्यानमा पनि कुनै पनि दलले एकल जिसस बनाउन सक्दैनन्। जम्मा मतभार २० रहेको सल्यानमा कांग्रेससँग ८, एमालेसँग ५, माओवादीसँग ६ र नेकपा एससँग १ मतभार छ। यहाँ जिसस बनाउन ११ मतभार चाहिन्छ। यहाँ कांग्रेसले एमाले वा माओवादीमध्ये एकसँग तालमेल गरेको खण्डमा जिसस बनाउन सक्नेछ। यस्तो नभए एमाले र माओवादीले पनि तालमेल गरेको खण्डमा भने यी दुई दलले जिसस बनाउनेछन्।
सुर्खेत
सुर्खेतमा पनि कुनै दलले एकल जिसस बनाउन सक्दैनन्। यहाँ कांग्रेसको ८, एमालेको ९, माओवादीको १ मतभार छ। १८ मतभार भएको सुर्खेतमा जिसस बनाउन १० मतभार चाहिन्छ। यहाँ एमाले र माओवादीमात्रै मिले भने पनि जिसस बन्ने छ।
हुम्ला
हुम्लामा पनि कुनै पनि दलको एकल जिसस बन्दैन। यहाँको जम्मा मतभार १४ छ। जिसस बनाउन चाहिने मतभार भनेको ८ हो। हुम्लामा कांग्रेसको मतभार ६, माओवादीको मतभार ६ र नेकपा एसको १ मतभार छ।
प्रतिक्रिया दिनुहोस्