काठमाडौं, १६ जेठ । मेरो नाम विशाल घर्ती हो । घर बाग्लुङ पर्छ । म वैशाखको ५, ६ गतेदेखि नै यार्सागुम्बा सङ्कलनको लागि मुस्ताङमा छु । हिजो बिहान म साथीहरुसँगै यार्सागुम्बा सङ्कलन गर्दै थिएँ । उताबाट जहाज उडेको आवाजसँगै एक्कासी ड्वाङ्ग गरेको अर्को आवाज आयो । डम्म बादल लागेकोले केही पनि देखिएन । साथीहरु कोही बास बस्ने गोठमा थिए । हामी चार जना चाहिँ पाखामा यार्सागुम्बा सङ्कलन गर्दै थियौँ ।
आवाज आउनेबित्तिकै जहाज दुर्घटना भयो भन्ने लाग्यो । केहीबेरपछि जहाज हराएको हल्ला पनि फैलियो । त्यसपछि हामी त्यहाँ भएका सबै मिलेर वरपर खोज्यौँ । तर पानी र बादलले गर्दा केही देखिएन । बेलुकी अबेरसम्म खोज्दा पनि नभेटेपछि गोठमा फर्किएर सुत्यौँ।
अनि आज बिहान ५ बजे चिया पिउनेबित्तिकै हामी खोज्न भनेर निस्कियौँ । सुरुमा तीन जना गयौँ । डम्म बादल लागेकाले नजिककै ठाउँ पनि देखिने अवस्था थिएन । लगभग एक घन्टा हिँडेपछि तेलको गन्ध आयो । साथीहरु अलि माथि थिए । म चाहिँ गन्ध आएको ठाउँको नजिक थिएँ । त्यसपछि मैले साथीहरुलाई बोलाएँ । यता तेलको गन्ध आएको छ भनेपछि साथीहरु पनि आए । गन्ध आएको ठाउँतिर जाँदा पाखाको ढिस्कोमा जहाज टुक्राटुक्रा अवस्थामा देखियो । कोही जीवित छन् कि भनेर वरपर हेर्यौँ । तर त्यस्तो भेटिएन । अनि मैले तल मेरो भिनाजु यामप्रसाद बुढाथोकीलाई खबर गरेँ। त्यसपछि मलाई असई साबले फोन गर्नुभयो । अनि उहाँलाई दुर्घटनाग्रस्त जहाजको फोटो पठाएँ ।
प्रतिक्रिया दिनुहोस्