काठमाडौं, ६ जेठ । इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ३ सय २२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत पाउनुभयो । उपाध्यक्षमा एमालेकै कल्पना राई ५ हजार १ सय ५८ मत ल्याई विजयी हुनुभयो।
प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका कुलबहादुर राईले ४ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । इलामका १० वटा पालिकामध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले इलाम नगरपालिकासहित सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको छ । एमालेले माई र देउमाई नगरपालिकासहित फाकफोकथुम, माइजोगमाई र माङसेवुङ गाउँपालिका जितेको छ । माइजोगमाई र इलाम नगरपालिकामा उपप्रमुख कांग्रेसले जितेको छ ।
सूर्योदय नगरपालिकाको मतगणना जारी छ । ११ वटा वडाको गणना सकिँदा मेयरमा नेकपा एसका रणबहादुर राई १० हजार ५ सय ९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। एमालेका काजिमान कागतेले ९ हजार १ सय ७७ मतका साथ पछ्याई रहनुभएको छ। उपमेयरमा नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेकी दुर्गादेवी भट्टराईले ७ हजार ७ सय ९२ मत पाउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्