काठमाडौं, ३ जेठ । चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । ताराले सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन् ।उपमेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका खेमराज महतो विजयी भए । माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमका अनुुसार ताराले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी ऋषिराम काफ्लेले सात हजार ७२९ मत ल्याए । ताराकुमारी काजी महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।
त्यसै गरी उपमेयरमा विजयी खेमराज महतोले ६ हजार ८३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन पौडेलले पाँच हजार १०४ र स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएको निर्वाचन अधिकृत चुडामणि शर्माले जानकारी दिए ।
माडीमा मेयर उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल थियो । माडी नगरपालिकामा नौवटा वडाहरू छन् । वडा नम्बर १ र ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नम्बर २, ४, ५ र ९ मा माओवादी वडा नम्बर ३ र ७ मा नेकपा एकीकृत समाजवादी र वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्