काठमाडौं । सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताउनुभएको हो । २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको बताउदै उहाँले फागुन १ गतेबाट दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको जानकारी दिनुभयो । उहाँले ५ देखि ११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।
उहाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाइसकिएको उहाँले बताउनुभयो । कोभिड–१९ परीक्षणको मूल्य नीजि अस्पताल प्रयोगशालामा १ हजार ५०० रुपैयाँ र सरकारी स्वास्थ्य संस्थामा ८०० रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो । त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ ।
संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन सम्पन्न गरिएको, कोभिड–१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी मापदण्ड, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्यको लागि स्तरीय उपचार पद्धति स्तरीय उपचार मापदण्ड जारी गरिएको जानकारी गराईएको छ ।
यसबिचमा २ हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण समेत भैसकेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्