लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उहाले आपत्ति समेत जनाउनुभएको छ ।
शनिबार विज्ञप्ति जारी गरेर महतोले भन्नुभएको छ, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु ।’ किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उहाको ठहर छ ।
महतोले वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा सडकमा उत्रिन बाध्य भएका किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता पनि व्यक्त गर्नुभएको छ । साथै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।
आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्