काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको ६३१ जना शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् । उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् ।
प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवाजस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । उनले लोकसेवा आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए । प्रदर्शनकारी परीक्षर्थीहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको बताएका छन् । उनीहरुले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्