ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसो बढेपछि भत्किएकै घरमा फर्किन बाध्य भए बाढीपीडित


एबीसी / संवाददाता

मनाङ । जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भएपनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् ।

राति आएको बाढीमा ज्यान जोगाउनेमध्येका एक हुनुहुन्छ रामचन्द्र गुरुङ । उहाँले भन्नुभयो, “दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो । चार महिना हुँदासम्म पनि सुरक्षित व्यवस्थापन हुन नसक्दा डुबानमा परेको घरमा जाडोबाट जोगिन ओत यही घरमा लाग्न बाध्य भएका छौँ ।” पछिल्लो समय सङ्घसंस्थाको सहयोगमा आएको त्रिपालमा बस्दै आएका ताल गाउँवासी बाढीले आधा भत्काएको घरमा फर्किएका छन् । “कोठामा ढुङ्गा, मुढा र बालुवा पसेका छन् । दुईतले घरको तल बस्नै मिल्दैन । माथिको तला सरसफाइ गरेर, बार बेरेर बसेका छौँ,” रामचन्द्रले भन्नुभयो । उहाँका भिनाज्यू चन्द्र सिंह गुरुङको परिवार पनि उहाँसँगै बस्दै आउनुभएको छ । “भेनाको सबै घर डुबेकाले बस्ने नमिल्ने भएको छ,” उहाँले भन्नुभयो, “धेरैजसो बाढीपीडित घरपरिवार संयुक्त रुपमा मिलेर बस्न थालेका छौँ ।” उहाँजस्तै नगेन्द्र गुरुङको परिवार पनि त्रिपालबाट भत्किएकै घर सामान्य मर्मत गरी बस्न थाल्नुभएको छ । “भुइँतलाको घर चार कोठाको थियो । फ्रेस हाउस र खोर पनि डुबायो,” नगेन्द्रले भन्नुभयो, “एउटा कोठा काम लाग्दैन । चारवटा सबै पुरिएको छ । अरू कोठामा पसेको लेदो, गिट्टी, बालुवा फालेर बस्न थाल्यौँ ।”

उहाँका अनुसार चारजनाको परिवार करिब चार महिना डाँडामा त्रिपालमा बसेर बितायौं । जाडो छल्न बाध्य भएर अहिले घरमा फर्किएका छौं । जाडो बढेपछि त्रिपालले चिसो छल्न मुस्किल भएकाले बगरकै जोखिमयुक्त घरमा फर्किनुपरेको उहाँको भनाइ छ ।स्थानीय सिंहबहादुर गुरुङका अनुसार तालगाउँका नौ घरपरिवार तालडाँडामा त्रिपालमा छन् । ताल गाउँको सबै घर डुबानमा परेको थियो । सिरान तालको सात घरसहित करिब ६० घर डुबानमा परेको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताउनुभयो । ताल गाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपहिरा पीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् ।

गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पु¥याएको छ । ४४ घर पूर्णरुपमा क्षति भएका छन् । यस क्षेत्रका १५ घरधुरी आंशिक क्षति तर उच्च जोखिममा रहेका छन् भने न्यून जोखिमका २३ घरधुरी छन् । वरिष्ठ कार्यक्रम अधिकृत रानाभाटका अनुसार १ नं वडाको तालमा मात्रै ५९ घरमा क्षति पुगेको थियो । २३ घर पूर्ण क्षति भएका छन् । आठ घरमा सामान्य क्षति भएका छन् । अझै पनि तालका १५ घरपरिवार छिमेकीको आश्रयमा बस्न बाध्य छन् भने ६ घरपरिवार अन्यत्रै सरेका छन् । नासों–३, धारापानीका १४ घरपरिवार आफन्त कहाँ आश्रय लिएका लिन बाध्य छन् ।गाउँपालिका अध्यक्ष चन्द्र घलेले बाढीपीडितलाई पुनःस्थापनाका लागि गाउँपालिकाका पूर्ण क्षति भएका ४४ परिवारलाई रु एक लाखका दरले क्षतिपूर्ति दिने बताउनुभयो । उहाँका अनुसार आंशिक तर उच्च जोखिम भएका १५ परिवारलाई रु ५० हजार र न्यून जोखिमका २३ घरपरिवारलाई रु ३० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको छ । “हामीले विपद् कोषमार्फत पीडितलाई केही समयमा राहत उपलब्ध गराउने तयारीमा लागेका छौँ । यसबाट उहाँहरूले केही मात्रा व्यवस्थापन गर्न पाउनुहुनेछ”, उहाँले भन्नुभयो, “दिगो व्यवस्थापनका लागि पुनर्निर्माण कार्य हुन्छ ।” पुनर्निर्माणका लागि सङ्घीय सरकारले रु पाँच लाख उपलब्ध गराउने उद्घोष गरिसकेको छ भने प्रदेश सरकारले पनि रु दुई लाख दिने घोषणा गरेको छ ।

सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत निजी आवास पुनर्निर्माणका लागि रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । “अहिले कोही त्रिपालमा, कोही भत्केको÷बिग्रिएको घरमा बस्न थाल्नुभएको छ । घर निर्माण कार्य छिटो गरिदिनुपर्छ भनेर लागिपरेका छौँ”, अध्यक्ष घलेले भन्नुभयो, “के गर्नु, अझै विज्ञ टोली पीडितको घर अनुगमनका लागि आइपुग्नुभएको छैन ।”जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश न्यौपानेका अनुसार प्रशासनले प्रारम्भिक तथ्याङ्कअनुसार पूर्ण क्षति भएका ८६ घरधुरीको सङ्ख्या सम्बन्धित पालिकालाई पठाइसकेकोको छ । सामान्य क्षति भएकाको विवरण भने यकिन गर्न सकिएको छैन । “हामीले पठाएको विवरणलाई प्रमाणित गरेर पालिकाले पठाइसकेका छैनन्”, उहाँले भन्नुभयो, “सबै लाभग्राहीको प्रमाणित विवरण नआउँदा ढिलाइ भएको हो, आएपछि काम अगाडि बढ्नेछ ।” उहाँका अनुसार गाउँपालिकाले लाभग्राही सूचीमा दाबीसहित अनलाइन अभिलेख राख्ने काम गरिरहेको छ । “पालिकाले अनलाइनमा इन्ट्री गरेपछि सबै सरकारी सर्भरमा जान्छ । त्यसपछि लाभग्राही सूची तयार हुन्छ र पुनर्निर्माणको काम अघि बढ्छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले पुनर्निर्माण अघि बढाउन पालिकाले आफूले काम छिटो गर्नुपर्ने बताउनुभयो । “छिटो भेरिफाइ भए मात्रै सम्झौता गरेर पुनर्निर्माण अघि बढ्छ”, उहाँले भन्नुभयो । निजी आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारले रु ४० लाख र प्रदेश सरकारले रु ३० लाख जिल्ला विपद् कोषमा पठाइसकेको उहाँको भनाइ छ । “कोही भत्किएकै घरमा बस्न थाल्नुभएको छ । कोही आफैँ व्यवस्थापन गरेर बसिरहनुभएको छ । कोही आफन्त र छिमेकीकामा हुनुहुन्छ,” प्रजिअ आचार्यले भन्नुभयो, “छिटोभन्दा छिटो घर बनाइदिन पाए हुन्थ्यो भन्ने हो, सकेसम्म हिमपातअघि पुनर्निर्माणको काम सुरु गर्ने गरी काम गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com