काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतको मुल गेटमा धर्ना दियो । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै शुक्रवार बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको हो । बारको धर्नाको बाबजुद प्रधानन्यायाधीश जबरा भने करिब ११ बज्नै लाग्दा वैकल्पिक गेटको प्रयोग गरी सर्वोच्च अदालत प्रवेश गर्नुभएको थियो । अधिवक्ताहरु नेपाल बार एसोसिएसनको भवनमा जम्मा भई ब्यानरसहित सर्वोच्चको मुल गेट अगाडी पुगेर धर्ना दिएका थिए ।
धर्ना दिन जाने क्रममा केही मानिसहरुले प्रधानन्यायाधीश जबराको समर्थनमा नाराबाजी गर्दै नेपाल बार एशोसिएसनको आलोचना गरेपछि केही समय असहज परिस्थिति बनेको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने तीन महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । धर्ना दिनुअघि संक्षिप्त सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई न्याय सम्पादन गर्ने र न्याय प्रशासन चलाउने अधिकार नभएको दावी गर्नुभयो । बारको शान्तिपूर्ण आन्दोलन गर्ने नीति रहेकोमा बिहीवार बारले कार्यक्रम गर्न खोज्दा पोडियम र माइक खोसिएको र कानुन व्यवसायीमाथि आक्रमण भएका कारण प्रधानन्यायाधीशलाई अदालत प्रवेश रोक लगाउनेसम्मको कार्यक्रम गर्नुपरेको उहा“ले बताउनुभयो ।
धर्नालाई सम्बोधन गर्दै नेपाल बारका महासचिव लीलामणि पौडेलले प्रधान न्यायाधीशको सम्बन्धमा संयुक्त राष्ट्रसंघमा पनि उजुरी पठाउन तयार रहेको भन्दै आफुहरु संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहेको बताउनुभयो । बारको भद्र आन्दोलनलाई कमजोरीको रुपमा नलिन उहा“ले चेतावनी पनि दिनुभयो । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोपसहित उहा“को राजिनामा माग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्