काठमाडौं,२१ पुस । वाम गठबन्धनको समर्थनमा झापा–३ बाट निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन एमाले प्रवेश गर्ने चर्चा चुनाव अघि नै सुरु भएको छ ।तर यता भने राजेन्द्र लिङ्देल एमालेमा प्रवेश गर्ने कुनै योजना नभएको आफुले न सोचेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाको गाई चिन्हबाट देशभरबाट जित्ने एक मात्र प्रतिनिधिसभा सदस्य लिङ्देन एमाले प्रवेश गर्ने चर्चा अझै पनि सेलाइ सकेको छैन । देशभरका अरु सबै निर्वाचन क्षेत्रमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा भने वाम गठबन्धनसँग तालमेल गरेको थियो ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएपछि वाम गठबन्धनले ओलीको जित सुनिश्चित गर्न झापाभर राप्रपासँग तालमेल गरेको थियो । अरु जिल्लामा कांग्रेससँग मिलेर प्रतिस्पर्धामा उत्रेको राप्रपालाई त्यस क्षेत्रमा मात्र किन सहयोग गर्ने भन्ने कार्यकर्ताको जिज्ञासालाई थामथुम पार्न एमाले नेताहरुले चुनावपछि लिङ्देनलाई एमाले प्रवेश गराउने आश्वासन दिएर चुनावमा खटाएका थिए ।
तर नेताहरुले भने जस्तो लिङ्देनलाई एमाले प्रवेश गर्ने बाटो राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले बन्द गरिदिएको छ । यदि लिङ्देन एमालेमा प्रवेश गर्नुभयो भने उहाँको सांसद पद नै गुम्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ ले प्रतिनिधिसभामा जुन पार्टीबाट उम्मेदवार भएको हो त्यो पार्टी परित्याग गर्न बन्देज लगाएको छ ।
दफा ३१ (१) मा भनिएको छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदकोे पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।’
यदि निर्वाचित सदस्यले उपदफा १ विपरीतको काम गरेमा वा दल त्याग गरेमा उसको सांसद पद नै गुम्ने व्यवस्था उपदफा २ मा गरिएको छ । त्यसमा भनिएको छ, ‘उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।’ यो व्यवस्थाअनुसार लिङ्दलेन प्रतिनिधिसभाको यो कार्यकालभर एमाले वा अरु कुनै पार्टीमा प्रवदेश गर्नुभयो भने झापा–३ मा फेरि चुनाव हुनेछ ।
प्रतिक्रिया दिनुहोस्