काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । पशुपति क्षेत्र विकास कोषमा कार्यरत ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन् ।
कोष व्यवस्थापकबाट कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न बञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेश गरेका छन् । श्रमिकहरुले तुरुन्त हाजिर गराएर बञ्चित गरिएको मितिदेखिको खाइपाइ आएको तलब, भत्ता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्