काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल आजदेखि खुलेका छन्। काठमाडौं, पोखरालगायत ठूला सहरका मल्टिप्लेक्सले आज अंग्रेजी चलचित्र प्रदर्शन गरेर हल पुनः सञ्चालन गरेका हुन्।
देशभरि खुल्ने हलले बिहीबार हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शन गर्दै छन्। यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टु डाइ’ प्रदर्शन हुँदै छन्। भारतको महाराष्ट्रमा हल खुल्ने निर्णय भएसँगै बलिउडका अधिकांस फिल्मले रिलिज घोषणा गरे । तर, नेपालमा भने हल खुल्ने निर्णय हुँदा पनि निर्माताहरू अग्रसर हुन सकेका छैनन् । तीन महिनाको लागि भनिएको सेवासुविधामा नेपाली फिल्मले ट्रेलर देखाएको, हलमा पोष्टर राखेको शुल्क दिनुपर्ने छैन ।
यसबारे जानकारी दिँदै चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली निर्माताहरूका लागि प्रदर्शक सदैव हातेमालो गर्न तयार रहेको बताए । ’हामीले पहिलो हप्तामा निर्मातालाई ५५ प्रतिशत र त्यसपछिका सम्पूर्ण सेयरमा ५० प्रतिशत उपलब्ध गराउने छौं’ उनले भने, ‘यसका साथै नेपाली फिल्म दुई हप्ताको फरकमा मात्र रिलिज हुनेछन् ।’
सेवासुविधाअनुसार आगामी तीन महीनासम्म प्रदर्शन हुने फिल्मको प्रचारप्रसार, भीपीसीलगायतको खर्च चलचित्र विकास बोर्डले व्यहोर्ने भएको छ । बोर्डले तय गरेको फिल्म प्रदर्शन कार्यविधिमा समेटिने सबै फिल्मले तीन महीनासम्म यस्तो सुविधा पाउने अध्यक्ष दाहालले जानकारी दिए । यो अवधिसम्म छायांकनमा जाने फिल्मको पनि डेढ लाखसम्म प्रोजेक्ट बिमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्