काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।
जिल्ला अदालत, मोरङले आज ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको बताइएको छ ।
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी हुनुभएका एसएसपी दिवेश लोहनी, श्यामबहादुर खत्री र एसपी विकासराज खनाल छन् । त्यस्तै, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । ९ माघ २०७४ मा दुबईबाट नेपाल आएको ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिंदा भरिया सनम शाक्यको हत्या भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो ¥याकेट’बारे अनुसन्धान भएको थियो ।
सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।
प्रतिक्रिया दिनुहोस्