काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् ।
एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । बाढीले काठमाडौंको खोला किनारका बस्ती प्रभावित भएका छन् । बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ ।
घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु बढी प्रभावित भएका छन् । गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । मानवीय क्षति भने भएको छैन । काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ ।
राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउ“मा मेघगर्जनसहित ठूलो पानी परेको छ । काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउ“मा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउमा पानी पर्ने सम्भावना छ । यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउ“मा पानी पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्