काठमाडौं । यस वर्ष साउन महिना लागे पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दीे र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् ।
महिला दिदीबहिनीले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्यधिक भीड लाग्ने गर्थो । यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताउनुभयो । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको लामिछानेले बताउनुभयो । उहाँले यसवर्ष साउनको पहिलो साता वितिसक्न लाग्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताउनुभयो । सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उहाँको छ ।
प्रकृतिले नयाँ स्वरुप परिवर्तन गर्ने महिनाको रुपमा परिचित साउनमा महिलाले हातमा मेहेन्दी र हरियो चुरा लगाएर महिनाभर महादेवको पूजाआराधना गर्दछन् । प्रकृति हरियालीमा रमणीय देखिने भएकोले आफ्नो श्रृंगारलाई प्रकृतिको हरियालीसँग मिसाउँदै साउन महिनामा शिवजीको पूजाआराधना सहित व्रत बस्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्