काठमाडौं, २४ असार । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिवमा सहसचिव कृष्णहरी पुष्कर बढुवा हुनुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएको एक मन्त्रीले बताउनुभयो । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।पुष्कर र नेपालको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो भने शर्माको नाम पहिलो पटक सिफारिस भएको हो ।
यसैगरी सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक ९डीआईजी० सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो । एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्