काठमाडौं, २३ असार । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ ।
बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिनुभएको हो । एमाले प्रवक्ता समेत रहनु भएका ज्ञवालीले भन्नुभयो , ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं ।
एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन ब्युँतिएको हो । सोमबारको बैठकमा विगतका राजनीतिक घटनाको बारेमा समीक्षा भएको थियो । मंगलबार पनि बैठक बसेको थियो । बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएको तर, कुनै सहमति हुन सकेको थिएन। जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।
प्रतिक्रिया दिनुहोस्