काठमाडौं, २३ असार । नेकपा एमालेको कार्यदलको तेस्रो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बुधवार कार्यदलको तेस्रो दिनको बैठक शुरू भएको हो । बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावललगायत सबै सदस्य उपस्थित हुनुहुन्छ। लामो समय निष्क्रिय रहेको कार्यदल सोमवारदेखि सक्रिय भएको हो । कार्यदलको हिजोको बैठकमा पार्टीभित्रका विवादित विषयमा बुँदागत छलफल गरेको थियो । सोमवार र मंगलवारको बैठक सकारात्मक रहेको नेताहरूले बताएका छन् । अन्य विषयमा सहमति जुटेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले संयुक्त वक्तव्य जारी गरेर एकताको सन्देश दिन कार्यदलका सदस्यहरूले प्रस्ताव गर्ने बताएका छन् । गत फागुन २३ मा सर्वोच्च अदालतको आदेशले नेकपा भंग गरेर एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद शुरू भएको थियो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदल गठन गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्