काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई अहिलेकै अवस्थामा आफूहरू मिल्न नसक्ने जानकारी गराएका छन् । पार्टीको विवाद र आधिकारिकताबारे छलफल गर्न आयोगले बोलाएर गरेको छलफलमा दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएको आयोगका एक पदाधिकारीले जानकारी दिएका छन् ।
नेताहरूले अब मिल्न सक्ने ठाउँ नरहेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै एउटा पक्षलाई आधिकारिकता दिन माग गरेका छन् । प्रतिनिधि सभा विघटन र सरकारमा जाने विषयलाई लिएर जसपाभित्र विवाद चर्किएको छ ।
प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको थियो । तर उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ ।
विवाद बढ्दै गएपछि दुवै पक्षले एकरअर्को पक्षका नेताहरूलाई कारबाही गरेका छन् । तर आयोगले भने कारबाहीलाई मान्यता दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्