काठमाडौं, २१ असार । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिनुभएको हो ।
उहाँले देश प्रतिगमन र अग्रगमनको द्वन्द्व सङ्घर्षबाट गुज्रिरहेको बताउनुभएको छ । आफूहरूले एक पटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भए पनि प्रतिगमन पूर्ण रूपमा सफल हुन नसकेका कारण प्रतिनिधि सभा दोस्रो पटक पनि विघटन भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिले पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरी छाड्ने छौँ ।’प्रतिगमन पनि आफ्नै योजनाअनुसार संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफूहरू राष्ट्रिय सभामा रहेको राष्ट्रिय सभा सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले राष्ट्रिय सभाको अधिवेशनलाई तत्काल अन्त्य गर्नेतर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्न सभाध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रिय सभामा छौँ । तत्काल अन्त्य गर्ने दिशातर्फ नसोचिओस् यसतर्फ ध्यान जाओस् । जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाका निम्ति सङ्घर्ष गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्नुपर्छ । सम्माननीय अध्यक्षज्यू, कुन पार्टीको पहिला हुनुहुन्थ्यो या कुन गुटको हुनुहुन्थ्यो भन्ने सोच्ने बेला छैन । यहाँ राष्ट्रिय सभाको अभिभावकको रूपमा हुनुहुन्छ, त्यसैले केपी ओलीलाई व्यक्तिगत रूपमा सहयोग गर्ने भूमिकाबाट मात्रै आफूलाई सोच्नु हुनेछैन । राष्ट्रिय सभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु ।’
प्रतिक्रिया दिनुहोस्