काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई सैनिक मुख्यालयमा सोमवार (आज) आयोजित कार्यक्रममा त्यस परिमाणको इन्सास, एसएलआर लगायतका हतियार र त्यसको गोली एवम् आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुभएको हो ।मन्त्रिपरिषद्को गएको जेठ १७ को निर्णयअनुसार सेनाले १० हजार आठ सय १८ नाल हतियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो । उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालिमसमेत सेनाले प्रहरीलाई प्रदान गर्नेछ ।
सेनाले बाँकी हतियार आउँदो वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ । कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दीपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो । देशका रक्षा र सुरक्षाको धरोहरका रूपमा रहेका ती दुई निकायका बीच शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा कतिपय समयमा संयुक्त परिचालनसमेत हुँदै आएको छ ।
शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने त्यस हतियारले प्रहरीको क्षमता अभिवृद्धि गर्नेछ । प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६ सय थान इन्सास हतियार उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्