काठमाडौं, २० असार । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताउनुभएको छ ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतवार बिहान नेता नेपाललाई भेट्नुभएको थियो । भेटमा उहाँले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले जानकारी दिनुभयो ।राष्ट्रिय सभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘माधव कमरेडकोमा गएका थियौँ । म, सुवासजी र शङ्करजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔँ भन्नेमा आग्रह गर्यौँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्या छैनन् । तपाईँहरू एक–आपसमा बस्नुहोस् । हामी पनि आपसमा विभिन्न साथीसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऔँ । पार्टी अध्यक्ष र तपाईँको बीचमा मिटिङ होस् हामी चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । उहाँले प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दै जाऔँ भनेर हामी उठ्यौँ ।’
प्रतिक्रिया दिनुहोस्