काठमाडौं, १९ साउन । एमाले महासचिव ईश्वर पोखरेलले आगामी वर्षको वैशाखभित्र दशौं महाधिवेशन सक्ने गरी तयारी अघि बढाउन प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकमा सांगठानिक प्रस्ताव पेश गर्दै महासचिव पोखरेलले निर्वाचनपछि आगामी बैशाखभित्र महाधिवेशनको प्रस्ताव गर्नुभएको हो ।
‘वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ। कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ । किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ, त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले आयोजक कमिटी गठन गरी चार वटा बैठक गरेपनि अदालतको अमान्य भनेपछि विघटन गरिएको र एमालेको पूर्ववत कमिटी नै रहेको पनि प्रष्ट पार्नुभयो ।
हाल चलिरहेको बैठक एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिकै हैसियतको भएको उहाँको भनाई थियो । ‘केन्द्रीय कमिटी बैठक जेठ २ मा जुन नेतृत्व थियो त्यसैको बैठक गर्दैछौँ,’ पोखरेलले भन्नुभयो । यसैगरी पार्टीको सदस्यता नवीकरण गर्ने असार मसान्तको समयसीमा तोकिएको जानकारी पनि उहाँले दिनुभयो ।
‘साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ । विधान संसोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाई सक्नुपर्ने छ,’ महासचिव पोखरेलले भन्नुभयो । महासचिवको प्रतिवेदनमा संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।








प्रतिक्रिया दिनुहोस्