काठमाडौं, १६असार। कोभिड १९ सङ्क्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय चुनावपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । त्यही ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन यो दिवस मनाउने गरिन्छ । त्यो चुनावको सम्पूर्ण परिणाम २०१६ साल वैशाख २८ गते आइसके पनि दरबारले अनेकौँ जालझेल गरी असार १६ का लागि मात्रै सदन आह्वान गरेको थियो । त्यो दिन राति ११ :४५ बजेका लागि आह्वान गरिएको बैठक ठिक १२ बजे मध्यरातमा आरम्भ गरिएको थियो ।
नागरिकका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम् शासन व्यवस्थाका रूपमा संसदीय शासन प्रणालीलाई लिइन्छ । अघिल्लो वर्ष पनि कोरोनाकै कारण सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त विज्ञप्तिमार्फत सम्पूर्ण नेपालीमा संसद् दिवसको बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनपछि देशमा विकसित राजनीतिक घटनाक्रमले यस पटक भने सभामुख र अध्यक्षकै विज्ञप्ति पनि संयुक्त रूपमा आउन सकेन । सभामुख र अध्यक्ष दुवैले जिम्मेवारी सम्हाल्नुअघि नै आफूहरूको कुनै राजनीतिक दलसँग संलग्नता र सदस्यता नरहेको भनी घोषणा गरे पनि राजनीतिक घटनाक्रमले अहिले उहाँहरू आ–आफ्नो पूर्व राजनीतिक दलसँगै उभिएको देखाएको छ ।दुई दशकदेखि पूर्वसांसद मञ्चले सङ्घीय संसद् सचिवालयसँगको समन्वयमा विभिन्न अन्तरक्रिया, चियापान र शुभकामना कार्यक्रम गरी संसद् दिवस मनाउने गरेको थियो । पछिल्ला दुई वर्षयता भने कोभिड–१९ को सङ्क्रमण जोखिमले त्यो सम्भव हुन सकेन । त्यसमा यस वर्ष नेकपाको आन्तरिक कलहबाट सिर्जना भएको राजनीतिक सङ्क्रमणले पनि मलजल गरेको देखिएको छ । अघिल्लो वर्ष सभामुख र अध्यक्षले दिएको संयुक्त विज्ञप्तिमा राज्य पुनर्संरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी रहेको उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्