काठमाडौँ, ६ असार । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।
थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।
यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । समय भने अन्य पसलहरु जस्तै रहेको छ।
खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ ।
प्रतिक्रिया दिनुहोस्