काठमाडौँ, ६ असार । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।यसैबीच उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको बताउनुभएको छ । उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको प्रजिअ पराजुली बताउनुहुन्छ । निषेधाज्ञा तत्कालै हटाइहाल्न नमिल्ने तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउदै लैजाने आफूहरुको योजना रहेको प्रजिअ पराजुलीले बताउनुभयो।
पछिल्लो समय निषेधाज्ञामा कडाई गर्ने भन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर आफूहरु लागिपरेको उहाँले बताउनुभयो । उहाका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । त्यसोत, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ । गत बुधबारको सीसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनका अधिकारीहरुले छलफल गरिरहेका बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्