काठमाडौं, ५ असार । रातीको बाढीले हेलम्बुको प्रहरी चौकी/तस्बिर : लक्ष्मण बिष्ट
विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो ।
मंगलबार क्षति पुर्याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन् ।
शुक्रबारको बाढीले मानवीय क्षति भने पुर्याएको छैन । हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी मंगलबार पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए । ‘ठूलो–ठूलो आवाज गरेर गडगडाएर बाढी आएपछि मैले तलतलका क्षेत्रमा खबर गरेको थिएँ,’ वडाध्यक्ष लामाले भन्नुभयो, ‘बाढी किन आयो भन्नेबारे भने अझै यकिन हुन सकिएको छैन ।’ खबर गरेको करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो ।
मंगलबारको विनाशकारी बाढीपछि त्यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी तीन सय ५० सुरक्षाकर्मी परिचालित छन् । उनीहरू उद्धार तथा राहतको कार्यमा खटिएका छन् । मंगलबारयता नै बाढीग्रस्त क्षेत्रका बासिन्दा खोला किनार छाडेर अग्लो स्थानमा बसिरहेकाले सुरक्षित छन् । मंगलबार र शुक्रबारका दुवै बाढी किन आयो भन्ने खुल्न सकेको छैन । हेलम्बुको नाकोचेभन्दा माथि मानवबस्ती नभएकाले त्यस क्षेत्रमा अहिलेसम्म कोही पुग्न सकेका छैनन् । मंगलबारको बाढीपछि जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखले हेलिकोप्टरबाट त्यस क्षेत्रको अवलोकन गरे पनि बाढी आउनुको खास कारण खुल्न सकेको छैन । नाकोचेभन्दा तल किउल क्षेत्रका स्थानीयले भने माथिल्लो क्षेत्रमा ठूलो पानी परेकाले पहिरो गई खोला थुनिँदा बाढी आएको हुन सक्ने बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्