काठमाडौं, ४ असार । जल तथा मौसम विज्ञान विभागले नेपालमा यस वर्ष मनसुन सक्रिय भएको जानकारी दिएसँगै केहि दिन यता परेको लगातारको वर्षाले तराई तथा पहाडको जनजीवन प्रभावित हुन पुग्यो । मनसुनको सुरुवातमै परेको अविरल वर्षाका कारण दर्जनौं बाढीले ज्यान गुमाइसके भने करोडौंको क्षति भइसकेको अवस्था छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ताले सताउछ आम नागरिकलाई । वर्षैपिच्छे बाढी र पहिरोमा दर्जनौंको संख्यामा जनताको ज्यान जाने गरेको छ भने सयौं घरखेत बगाएर विस्थापित हुँदै आएका छन् । यो क्रम यस वर्ष मात्रै देखिएको होइन, हरेक वर्ष मनसुनको त्रास जनतामा छ ।
यही असार साउनमा मेहनत गरेर रोपेको धानले वर्षभरीका खानका लागि खेती किसानी गर्ने किसानलाई वर्षायाम त्रासदी बन्ने गरेको छ । कारण हो, विपद् व्यवस्थापनको पूर्व तयारीप्रति सरकारको उदासिनता । वर्षेनी बाढीपहिरोको जोखिम हुने गरेता पनि आप्mना नागरिकको जीउधनको संरक्षण गर्न सरकार असक्षम भइराखेको छ । थाहा हुँदाहुँदै पनि पूर्व तयारीका लागि केही पनि ठोस पहल नगरिनु र ठोस कार्यक्रम नल्याउनुमा सरकार जनताप्रति उदासिन रहेको प्रष्ट देखिन्छ । , विगतको तथ्याङक विश्लेषणका आधारमा यो वर्षको बाढी–पहिरोबाट मुलुकका १८ लाख बासिन्दा उच्च जोखिममा रहने अर्थात विस्थापित हुने आंकलन गरिएको छ । वर्षायाममा बाढी, पहिरोले पिरोल्ने हुनाले विपद्बाट बच्न पूर्वतयारी आवश्यक हुन्छ, तर यस वर्ष पनि पूर्वतयारी फितलो हुदा स्थिती डरलाग्दो बन्ने संकेत देखिएको छ ।
विशेषगरी सानातिना खोला, कुलो र खोल्सा अतिक्रमण गरेर बाटो र भौतिक निर्माण कार्य गर्दा यस्ता बाढी र डुबानका घटना घटेको देखिन्छ । नदि र तटीय क्षेत्रमा अनाधिकृत रुपमा मानवीय संरचना बनाई घना बस्ती बसाल्नु, अव्यवस्थित र अबैज्ञानिक सडक बिस्तारका गर्नुका कारण यस्ता डरलाग्दा घटना घटिरहेका छन् । विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धारका लागि अब सक्रिय हुन अत्यन्तै आवश्यक देखिन्छ । सबै तहका सरकारले समेत विकास गर्दा वातावरणीय प्रभाव मुल्याङकनलाई प्राथमिकता राखेर काम गरे केही जोखिम कम गर्न अवश्य सकिन्छ । मुलुकमा यस वर्षको मनसुन सुरु भएको छ ।
मनसुन सुरु भएसगै बाढि, पहिरो र ढुवानको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरा युक्त हुनसक्ने बताएको छ, अघिल्ला वर्षका तुलनामा यो वर्ष धेरै वर्षा हुने भएकाले बाढी, पहिरोको जोखिम रहेको हो । सधैँ बाढी आउँछ, पहिरो आउँछ भन्ने थाहा हुँदाहुँदै पनि त्यसको दीर्घकालिन समाधानका लागि किन उपाय खोजिन्न ? विपद् व्यवस्थापनको लागि बाढी आउनु् अगाडि नै किन तयारी गरिदैन ? पूर्व तयारीका लागि कुनै पहल नगर्ने अनि बाढी प्रभावितहरुका लागि भनेर केही केजी चामल र केही थान कपडा राहत बाँड्नु मात्रै सरकारको कर्तव्य हो त ? त्यसैले अब सरकार यो भ्रमबाट बाहिर आउनैपर्छ ।
बाढी प्रभावितलाई राहत बाँड्ने होइन बाढी प्रभावित हुनबाटै रोक्ने तयारीमा सरकार जुट्नुपर्छ । होइन भने यस वर्षको सूरुवातीमै सिन्धुपाल्चोक जिल्लामा घटेको घटना पुनः नदोहोरिएला भन्न सकिन्न । केही संचारमाध्यहरु मार्पmत विपदको सामना र पूर्व तयारी गर्ने सूचनामा मात्रै दिएर आफ्नो कर्तव्यबाट सरकार पन्छिनु हुन्न । जनचेतनामूलक कार्यक्रम गर्ने, बाढी पहिरोको पूर्व सूचना दिने सम्पूर्ण भौतिक पूर्वाधारहरु सहितको सूचना केन्द्र स्थापना गर्ने, दक्ष जनशक्ति परिचालन गर्ने लगायतका ठोस कदम चाल्न जरुरी छ । वर्षैपिच्छे प्राकृतिक प्रकोपका कारण जनताले ज्यान गुमाएको टुलुटुलु हेरेर बस्ने, उदार नीति अपनाएको सरकारको नीति पक्कै पनि नहुनुपर्ने हो । तसर्थ जनताको जीवन रक्षाका लागि यथासक्दो चाँडो पूर्व तयारीमा सरकार जुट्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्