काठमाडौं, १८ जेठ । अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो केही समययता अमेरिकामा कोरोनाको सङ्क्रमण दर भने न्यून छ । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । मृत्यु दर पनि घटेको छ । यसअघि दैनिक अमेरिकामा ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको हो । सङ्क्रमित सङ्ख्याको हिसाबमा निक्कै तल रहेका अन्य मुलुकमा कोरोनाले अवस्था जटिल बनाइरहँदा पहिलो नम्बरमा रहेको अमेरिकामा भने दैनिक सङ्क्रमण र मृत्यु दर निक्कै कम भएर गएको हो ।
पछिल्लो केही दिनयता सङ्क्रमण र मृत्यु दर ह्वात्तै घटेको छ । कोरोना नियन्त्रणका लागि अवलम्बन गरिएका उपाय र कोरोनाविरुद्धको खोपले प्रभावकारी काम गरेपछि अमेरिका विश्वलाई नै तहसनहस बनाइरहेको सङ्क्रमणको दलदलबाट माथि उक्सिने अवस्थामा पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र अमेरिकामा पाँच हजार एक सय ४३ जना नयाँ सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख १३ हजार ५४ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ६३ हजार छ सय ६५ जना उपचारपछि निको भएका छन् ।
५६ लाख ३९ हजार छ सय २२ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये छ हजार एक सय २९ जनाको अवस्था चिन्ताजनक छ । यसअघि अमेरिकामा गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि उच्च थियो ।
एकै दिन अमेरिकामा एक सय १५ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण छ लाख नौ हजार सात सय ६७ जनाको मृत्यु भइसकेको छ ।
नेपालसँग खुला सीमा रहेको भारतमा पनि कोरोनाको सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको छ । केही समययता कोरोनाले अवस्था जर्जर बनाएको भारतमा अहिले दैनिक सङ्क्रमण र मृत्यु हुने सङ्ख्या घट्दै गइरहेको हो ।
यसअघि भारतमा दैनिक चार लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरोनाका कारण एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर त्यो सङ्ख्या पछिल्लो समय क्रमस घट्दै गइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजार छ सय ९८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ८१ लाख ७३ हजार छ सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५९ लाख ३९ हजार पाँच सय चार जना उपचारपछि निको भएका छन् ।
१९ लाख दुई हजार दुई सय ४२ जनाको उपचार जारी छ । उपचाररत सङ्क्रमितको सङ्ख्या पनि भारतमा कम हुँदै गइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
भारतमा एकै दिन दुई हजार सात सय ८२ जनाको मृत्यु कोरोनाका कारण भयो । भारतमा हालसम्म कोरोना सङ्क्रमित तीन लाख ३१ हजार नौ सय नौ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
ब्राजिलमा पनि सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिन्थे । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुन्थ्यो ।
तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३२ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख ४७ हजार छ सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४९ लाख ६४ हजार छ सय ३१ जना उपचारपछि निको भएर कोरोनामुक्त बनेका छन् ।
११ लाख २० हजार ७७ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन ब्राजिलमा आठ सय ७४ सङ्क्रमितको मृत्यु भयो ।
यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ६२ हजार नौ सय ६६ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
विश्वका अन्य मुलुकमा पनि कोरोना सङ्क्रमणको दर कम हुँदै गइरहेको छ । कोरोनाले महामारीको रुप लिइरहँदा विभिन्न मुलुकको अवस्था भयावह बनेर गएको थियो । तर नियन्त्रणका लागि गरिएका प्रयास सफल हुँदा प्राय कोरोना फैलिएका मुलुकमा सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको हो ।
विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार छ सय १४ जना नयाँ बिरामी थपिए । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । विश्वमा हालसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १७ करोड १४ लाख ४९ हजार सात सय ३६ पुगेको छ ।
सङ्क्रमितमध्ये १५ करोड ३८ लाख ९६ हजार आठ सय ३९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । एक करोड ३९ लाख ८८ हजार तीन सय ७० जनाको उपचार भइरहेकोमा ९१ हजार सात सय ४६ जनाको अवस्था गम्भीर छ ।
विश्वमा गम्भीर अवस्थामा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । यसअघि दैनिक एक लाखभन्दा बढी सङ्क्रमितको अवस्था असामान्य हुने गरेको थियो ।
विश्वमा एकै दिन सात हजार छ सय ९७ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या यसअघि एक दिनमा मृत्यु हुने सङ्क्रमितको भन्दा लगभग आधा हो ।
यसअघि विश्वभर २४ घण्टाभित्र १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । विश्वमा कोरोनाका कारण हालसम्म ३५ लाख ६४ हजार पाँच सय २७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्