काठमाडौँ, जेठ १७ । छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ५३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार चार सय ८५ जनामा कोरोना देखिएको हो । यसअघि दैनिक चार लाखसम्मलाई कोरोना देखिँदै आएको भारतमा सङ्क्रमण घट्दो क्रममा छ ।
कोरोनाको कठिन परिस्थितिको सामना गरिरहेको भारतमा केही दिनयता कोरोना नियन्त्रण प्रभावकारी बनिरहेको हो । भारत आफैले पनि कोरानाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई दिन थालेको छ ।
सङ्क्रमण कम हुँदै जानुलाई कोरोना नियन्त्रणका लागि अपनाइएका उपाय सफल भएको र कोरोनाविरुद्धको खोपले प्रभावकारी काम गरेको रुपमा लिइएको छ । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ४६ हजार नौ सय ५७ पुगेको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार तीन सय एक रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार पाँच सय २९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन हजार एक सय २९ जनाको मृत्यु कोरोनाका कारण भयो ।
यसअघि दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित तीन लाख २९ हजार एक सय २७ जनाको मृत्यु भइसकेको छ ।
भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्