काठमाडौं, जेठ १४ । गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज हुनुभएको थियो।अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उहाँको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर्शन थापाले बताउनुभयो ।‘अचानक आँखा बन्द भयो, टाउको अधिक दुख्यो भन्नुभयो, बिस्तारै बेहोसी अवस्थामा गएर बिरामीको मृत्यु भयो,’ डा. थापाले भन्नुभयो, ‘कोरोना निको भए पनि ब्ल्याक फंगस (कालो ढुसी) सँग मिल्दाजुल्दा सबै लक्षण देखापरेका थिए । कागजमा देखिने गरी टिपोट नगरिए पनि बिरामीको मृत्यु फंगसकै कारण भएको हाम्रो अनुमान छ ।’
पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितमा ब्ल्याक फंगसको संक्रमण देखिएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार ब्ल्याक फंगस संक्रमण देखिएका एकको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्