काठमाडौँ, १२ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनेको छिमेकी मुलुक भारतमा मृत्यु दर कम हुन सकिरहेको छैन । दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ ।
भारतमा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ । दैनिक चार लाख हाराहारीमा सङ्क्रमित भेटिने भारतमा अहिले त्यो सङ्ख्या घटेर झन्डै आधामा झरेको छ । कोरोनाको भयावह अवस्थासँग जुधिरहेको भारतमा नयाँ थपिने सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहे पनि मृत्यु दर भने घट्न सकिरहेको छैन ।
पछिल्लो २४ घण्टाभित्र भारतमा चार हजार एक सय ७२ जना सङ्क्रमितको मृत्यु भयो । एकै दिन मृत्यु हुने सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा उच्च हो । कोरोना प्रभावित मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ११ हजार चार सय २१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
भारतमा २४ घण्टाभित्र दुई लाख आठ हजार आठ सय ८६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका कोरोना सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । तर भारतमा भने नयाँ थपिने सङ्क्रमित सङ्ख्या ओरालो लागिरहेको छ ।
भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ७१ लाख ५६ हजार तीन सय ८२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४३ लाख ४३ हजार दुई सय ९९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । २५ लाख एक हजार छ सय ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
भारतले कोरोना भाइरसविरुद्धको खोप आफै उत्पादन गरेर आफ्ना नागरिकलाई लगाउन थालेको छ । खोपले पनि भारतमा सङ्क्रमण र मृत्युलाई रोक्न सकिरहेको छैन । भारतले खोप अन्य मुलुकमा पनि निर्यात गरिरहेको छ ।
कोरोनाका कारण भारत निक्कै प्रभावित बनिरहँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी मुलुक नेपालमा परिरहेको छ । नेपालमा दैनिक कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहँदा त्यसको मुख्य कारण भारतसँगको खुला सीमालाई मानिएको छ ।
सीमाबाट हुने अवैध आवतजावतका कारण कोरोना सल्किएर नेपालको अवस्था पनि खराब बन्दै गइरहेको छ । विज्ञहरुले भारतसँग प्रत्यक्ष सम्पर्क नटुटाएसम्म नेपालमा सङ्क्रमण नियन्त्रण मुस्किल पर्ने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्