काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ ।अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुन लागेको हो। मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ । यसैबीच, उपचुनावको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।मतगणना बेलुकी ५ बजेदेखि सुरु गरिने र आजै बेलुकासम्ममा भर्चुअल माध्यममार्फत नतिजा सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपचुनाव भने जेठ १७ गते हुने छ ।
प्रतिक्रिया दिनुहोस्