काठमाडौं, ६ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो २४ घण्टामा छिमेकी मुलुक भारतमा सङ्क्रमित धेरै भेटिएका छन् ।भारतमा २४ घण्टामा दुई लाख ७६ हजार दुई सय ६१ नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या अन्य मुलुकमा थपिएका नयाँ सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।
भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ५७ लाख ७१ हजार चार सय पाँच पुगेको छ । कोरोना पुष्टि भएकामध्ये दुई करोड २३ लाख ४८ हजार छ सय ८३ जना उपचारपछि निको भएका छन् ।
भारतमा अहिले ३१ लाख ३५ हजार पाँच सय ६६ सङ्क्रमितको उपचार भइरहेको छ । भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था निक्कै गम्भीर छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको दोस्रो नम्बरमा छ ।
एकै दिन भारतमा तीन हजार आठ सय ८० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकको तुलनामा अत्याधिक धेरै हो । हालसम्म कोरोनाका कारण दुई लाख ८७ हजार एक सय ५६ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २७ हजार ७१ जना नयाँ बिरामी थपिए । हालसम्म तीन करोड ३७ लाख ९९ हजार दुई सय ३१ जनामा कोरोना पुष्टि भइसकेको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ५८ लाख ९९ हजार तीन सय ९१ जना सङ्क्रमित उपचाररत छन् । उपचार गराइरहेकामध्ये सात हजार छ सय ६१ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।
अमेरिकामा दुई करोड ७२ लाख ९७ हजार नौ सय १८ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन छ सय नौ जना सङ्क्रमितको मृत्यु भयो । अमेरिकामा हालसम्म छ लाख एक हजार नौ सय २२ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।ब्राजिलमा एकै दिन ७९ हजार सात सय छ जना नयाँ बिरामी थपिए । ब्राजिलमा हालसम्म एक करोड ५८ लाख १५ हजार एक सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ ।
ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको तेस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमण पुष्टि भएकामध्ये १० लाख ४३ हजार दुई सय नौ जनाको उपचार भइरहेको छ । एक करोड ४३ लाख ३० हजार एक सय १८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्