काठमाडौं, २ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ । थप एक सय ४५ सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चीनमा ज्यान गुमाएकाको भन्दा धेरै हो । कोरोनाको तथ्याङ्कसम्बन्धी विवरण अद्यावधिक गर्दै आएको वर्ल्डोमटिरका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म चार हजार आठ सय ४६ जनाको ज्यान गएको हो ।प्रति एक लाखमा मृत्यु दर हेर्दा पनि चीनमा शून्य दशमलव तीन को ज्यान गएको छ भने नेपालमा प्रति एक लाखमा १४ दशमलव नौ को ज्यान गएको छ, यो अहिले एसियामै सर्वाधिकमा पर्छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै नेपालमा सङ्क्रमित थपिने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीव्र भइरहेको छ । विशेषगरी घना बस्ती भएका सहर, बजार कोरोना सङ्क्रमणको हटस्पट बनेका छन् । जहाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण २०२० को जनवरीदेखि विभिन्न देशमा फैलिन थालेको थियो ।नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिँदा चीनमा भने नियन्त्रणतर्फ गइरहेको छ ।चीनमा सङ्क्रमणको अनुगमनदेखि कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई तीव्रता दिइँदा नेपाल भने त्यसमा चुकेको विज्ञहरु बताउँछन् । चीनमा सङ्क्रमण रोक्न कडा प्रतिबन्धदेखि रातारात कोभिडकै लागि अस्पताल बनाइएको थियो । नेपालमा भने आर्थिक अवस्थालाई भन्दा व्यवस्थापकीय कमजोरीका कारण सङ्क्रमण नियन्त्रणमा कठिनाइ भएको विज्ञले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्