काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीनिकट एक उच्च स्रोतका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ । प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको एक स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’ ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११/१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउनुहुने छ र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ। यही तयारी अनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिनुभएको थियो ।
यसपटक ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु तथा विपक्षीले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुअघि नै विश्वासको मत लिने निर्णय गर्नुभएको थियो । त्यसैका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दै छ। राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि आज नै संसदको विशेष अधिवेशन अन्त्य गर्ने तयारी छ।।








प्रतिक्रिया दिनुहोस्