काठमााडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीका लागि बोलाउनुभएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी नहुने भएको छ । पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित काम गरेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएको हो । सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर सरकारले पछिल्लो पटक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएकोसमेत आरोप लगाउनुभएको छ । अध्यादेशमार्फत संविधानको आधारलाई नै भत्काउने काम भएको भन्दै देउवाले कानुन निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको बताउनुभयो । अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने मनसायबाट प्रेरित रहेको समेत उहा“ले बताउनुभएको छ । संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने पनि देउवाले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्