काठमाडौँ, २३ बैशाख । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ ।
बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी-सिपाघाट मेलम्ची-हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच(पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ ।
त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।
बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ । यी जिल्लाहरुमा २७ गतेदेखि आउँदो २९ गतेसम्मको विभिन्न मितिमा निषेधाज्ञा लम्ब्याइएको हो ।मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभयो । यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । थप सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । डा। गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ सङ्क्रमितको मृत्यु भएको हो । यो सङ्ख्या हालसम्म नेपालमा कोरोनाले मृत्यु हुने सङ्ख्याभन्दा धेरै हो । अघिल्लो दिन मङ्गलबार ५५ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । यस्तै एक हजार ९९३ जना सङ्क्रमित निको भएका छन् । हाल नेपालमा निको हुने दर ८० दशमलव ६ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्