काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ ।मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।
माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताउनुभयो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।
त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।
पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्